• जीवनशैली | Jiwanshaili
  • सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना पुष्टि


    काठमाडौं । सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    आधार शिविरबाट फर्किएका दुई विदेशीसहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए । तामाङका अनुसार वैशाख १५ र १६ गते १ १ जना, २२ गते बुधवार दुई जना, २३ गते बिहीवार चार जना, २४ गते शुक्रवार चार जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

    सङ्क्रमण पुष्टि भएकामध्ये दुई जना सङ्क्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखेर उपचार सुरु गरिएको छ । अन्य आठ जनालाई होम आइसोलेशनमा राखिएको छ । योसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका १२ जनासहित सोलुखुम्बुमा कुल सङ्क्रमितको सङ्ख्या २१ पुगेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    कार्यालयका अनुसार अहिलेसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक एक जना विदेशी नागरिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए ।

    यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरिएकामध्ये एक जनालाई काठमाण्डौ र एक जनालाई विराटनगर रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए। लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म सोलुखुम्बुमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । तर हाइड्रोपावरले गरेको परीक्षणलाई सरकारले आधिकारिक मानेको छैन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस