नेपालमा अनलाइन क्लास : पहुँच कम, विज्ञापन धेरै
२०७६ चैतमा पहिलोपटक लकडाउन भएदेखि नै नेपालका केही विद्यालयले ‘भर्चुअल शिक्षा’ नाम दिएर कक्षा सुरु गर्न थाले । नयाँ वर्ष २०७७ देखि स्थानीय स्तरका विद्यालयले समेत जुम एप्लिकेसनबाट कक्षा सुरु गर्न थाले ।
यसैबीच सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ल्यायो । असार १ बाट लागू हुने गरी दूर तथा खुला शिक्षाको अवधारणा यहीबेलादेखि देशैभरि फैलियो ।
अनलाइन कक्षा चलाउन जुम मीटिङ, गुगल मेटजस्ता एपको अत्यधिक प्रयोग भयो । तर आजसम्म अनलाइन क्लासमा कुन माध्यम कति प्रभावकारी रह्यो भन्ने अध्ययन भने भएको छैन ।अनलाइन शिक्षाको प्रभावकारीतामाथि बहस भएको छैन ।
अधिकांश स्थानीय तहले वैकल्पिक माध्यममा सबै विद्यालयको ‘पहुँच नभएको’ कुरा बारम्बार भन्दै आएका छन् । अनलाइनमा पहुँच नहुँदा अत्यावश्यक पाठ्यसामग्रीसमेत हेर्न, सुन्न र पढ्नबाट विद्यार्थी बञ्चित भएको बताउँछन्, शिक्षाविद् डा. विद्यानाथ कोइराला ।
‘नेपालको तथ्यांक हेर्दा इन्टरनेटमा एकदमै कम विद्यार्थीको पहुँच छ’ उनी भन्छन्, ‘त्यसकारण, विद्यार्थीको व्यावहारिक सिकाइमा जोड दिनु आवश्यक छ । खुला शिक्षासँगै भान्सा, गोठालो, अन्य घरायसी काम गर्दा सिकेको सिकाइलाई पाठ्यक्रममा जोड्नुपर्छ ।’
यता सरकारले आफ्नो क्षेत्रका विद्यार्थीको अवस्था अध्ययन र वर्गीकरण गरी सोही अनुसार लागू गर्न/गराउन स्थानीय तहहरूलाई निर्देशन दियो । तर, अधिकांश विद्यालयले स्रोत नपुग्ने, विद्यार्थीको पहुँच भन्दा बाहिर रहेको, दक्ष शिक्षक नभएको तथ्य पेश गरे ।
जोखिम पनि उत्तिकै
बालबालिका तथा किशोरकिशोरीले अनलाइन शिक्षा प्रयोग गरिरहँदा यसले जोखिम पनि बढाइरहेको मनोपरामर्शदाताहरू बताउँछन् बालबालिकाले आफूभित्र दबेर बसेका अतृप्त कुण्ठा व्यक्त गर्ने माध्यम इन्टरनेटलाई बनाउँदा साइबर क्राइमका घटना बढ्न सक्ने सम्भावना रहन्छ ।
अभिभावकको नियमनबिनाको इन्टरनेटको पहुँचले बालबालिका पढाइका समयमा इन्टरनेट दुरुपयोग गर्ने मात्र होइन, निकै लामो समयसम्म इन्टरनेटको प्रयोगले स्क्रिन डिसअर्डरकोे समेत सिकार हुने सम्भावना बढ्छ । सुपरीवेक्षणबिना दिइने इन्टरनेटको पहुँचले बालबालिकालाई सहयोगभन्दा दुर्घटनातिर लैजान सक्ने सम्भावना बढी देखिन्छ ।

बालबालिकालाई लामो समय स्क्रिनअगाडि राख्ने काम शारीरिक र मानसिक दुवै दृष्टिले राम्रो होइन । यसैले बालमनोविज्ञान बुझेर छोटो समयका अनलाइन कक्षा तथा अफलाइन पाठ्यसामग्री उपलब्ध गराई उनीलाई लामो समयसम्म इन्टरनेट र स्क्रिनमा झुम्मिने वातावरणबाट मुक्त राख्नुपर्छ ।
अनलाइन कक्षाका कारण शिक्षकको जिम्मेवारीसमेत अभिभावकमा स्थानान्तरण भएको छ । यसैले विद्यार्थीलाई पढ्नका लागि मानसिक रूपमा तयार पार्ने तथा पढाइका कामबाट विचलित हुनबाट रोक्ने भूमिका अभिभावकले पूरा गर्नुपर्ने देखिन्छ । यस दिशामा अभिभावक सचेत भई आफ्ना बालबालिकाले इन्टरनेटको सही रूपमा उपयोग गरेका छन् कि छैनन् भन्ने कुरामा सावधान हुनुपर्दछ ।
यसका साथै सामाजिक अन्तक्र्रिया, अनुभवको आदानप्रदान र वास्तविक व्यावहारिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदै उनीहरूको सामाजिकीकरणमा सहयोग पु¥याउनु आवश्यक देखिन्छ ।
शिक्षकले पनि एकोहोरो पाठ्यवस्तु नपढाएर बालबालिकालाई खोज र अनुसन्धानमा अभिप्रेरित गर्ने किसिमका परियोजना कार्यमा संलग्न गराउनुपर्दछ । अनलाइनमा सबै कुरा बताइदिएर बच्चालाई तृप्त पार्ने प्रयास नगरेर छोटो समयका अनलाइन कक्षामार्फत विद्यार्थीलाई समस्या समाधान, समूह कार्य, व्यावहारिक र जीवनोपयोगी सीप वृद्धि गर्ने किसिमका गतिविधिका माध्यमबाट पाठ्यक्रमको उद्देश्य पूरा गर्न शिक्षक स्वयं तयार हुनुपर्दछ ।
क्याटेगोरी : खोज/विशेष, प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस