राहत बोकेर प्रकोप पीडितका घर–घरमा मन्त्री गुरुङ
ओखलढुङ्गा – प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ यहाँका प्रकोप पीडितका घर–घरमा राहत लिएर पुगेका छन् । जिल्लाबाट निर्वाचित मन्त्री गुरुङ चम्पादेवीको बाढी पहिरो प्रभावित र मोलुङ गाउँपालिकाका अग्निपीडितका समस्या बुझेर सान्त्वना दिन राहत लिएर स्थलगत निरीक्षणमा पुगेका हुन् ।
मन्त्री गुरुङले जिल्लाको मोलुङ गाउँपालिका–१ डुलडुलेका आगलागी पीडितलाई घरैमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट पाँच परिवारलाई रु ५० हजारका दरले रु दुई लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार रु २५ हजारका दरले रु एक लाख २५ हजार राहत उपलब्ध गराएका छन् ।
मन्त्री गुरुङले आगलागी पीडितको अवस्था अनुगमन गरेपछि आवास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गत चैत १५ गते आगलागी हुँदा कुन्तादेवीका पाँच घर जलेका थिए । घरसहित धनमाल पूर्णरूपमा जलेर नष्ट हुँदा दैनिकी चलाउन र घर बनाउन समस्या भइरहेका बेला मन्त्रीको साथले ठूलो राहत मिलेको कुन्तादेवीका अग्निपीडित हर्कमाया प्रधानले बताए ।
यसैबीच मन्त्री गुरुङले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीको पहिरो प्रभावित क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका छन् । गत वैशाख १८ गते गाउँमाथिबाट झरेको पहिरोबाट विस्थापित भएका स्थानीयवासीलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पहिरो प्रभावित क्षेत्रका नागरिकको आवास निर्माणमा आफूले सहयोग गर्ने बचन दिएका छन् ।
सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल गत वैशाख १८ गते बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको थियो । सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको थियो । ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस