निषेधाज्ञा : कृषकलाई छैन बजारको समस्या
कास्की -अघिल्लो वर्षको निषेधाज्ञाको अवधिमा करोडौँ मूल्यको तरकारी, फलफूल कुहाउन बाध्य भएका पर्वत कृषकले यस वर्ष भने राहत पाएका छन् । विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको भए पनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानले बताएका छन् ।
गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानले बताएका हुन् । जिल्लाको जलजला गाउँपालिका–७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै तरकारी कुहिए पनि यस वर्ष भने कुनै समस्या नभएको जानकारी दिनुभयो । उनले ढुवानीका साधनलाई स्थानीय प्रशासनले आवातजावतमा कुनै रोक नलगाएपछि तरकारी ढुवानीमा बाधा नभएको बताए।
जलजला कृषि बजारले पनि किसानका उत्पादन गाउँमै पुगेर ढुवानी गर्दै आएको छ । स्थानीय कृषक नरबहादुर केसीले जलजला कृषि बजारले गाउँमै आएर तरकारी ढुवानी गरिदिँदा बिक्री नहुने समस्या हटेको बताउनुभयो । जिल्लाको मोदी गाउँपालिकामा उत्पादित तरकारी तथा दूध मोदीखोला बहुउद्देश्यीय सहकारीले स्थानीय बजारसँगै पोखरासम्म बजारीकरणमा सहजीकरण गर्दा बिक्रीको समस्या नरहेको बताएका छन् ।
सहकारीका अध्यक्ष गङ्गा तिमिल्सिनाले किसानका उत्पादन ढुवानी र बिक्री वितरणमा सहयोग गर्दै आएको बताउनुभयो । कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका किसानले डोकोमा बोकेर भए पनि कुश्मामा तरकारी बेच्दै आएका छन् । गत वर्ष भने कोरोनाको त्रासले उपभोक्ताले बजारको तरकारी किनेर नखाने समस्यासमेत थियो । यस वर्ष जिल्लाभर निषेधाज्ञा भए पनि तरकारीको ढुवानीमा कुनै रोकतोक नभएको किसानहरुले बताएका छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले बाहिरी जिल्लाबाट ढुवानी रोकेर जिल्लाभित्रको उत्पादन आन्तरिक बजारमा खपत गर्न थालिएकाले किसानलाई बजारको समस्या नभएको जानकारी दिनुभयो । उनले पोखरा, काठमाडौँ, चितवनतिरबाट आउने तरकारी नल्याउन व्यापारीलाई अनुरोध गरिएको र सकेसम्म जिल्लाकै किसानको उत्पादन बेच्न भनिएको बताउनुभयो । अहिलेको सिजनमा पर्वतमा घिरौँला, काँक्रा, मुला, सिमी, गाँजर, करेला, जुकेनी, लौकालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । स्थानीय गोलभेँडाको भने बजारमा माग उच्च छ तर उत्पादन कम रहेको छ । पर्वतका किसानले कुश्माबजारबाहेक बागलुङ, म्याग्दी, पोखरा र मुस्ताङसम्म तरकारी बिक्री गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस