• जीवनशैली | Jiwanshaili
  • थापाथली प्रसूति गृहमा कोरोना संक्रमित ३५ महिलाले सन्तानलाई जन्म दिए


    काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण भएका ३५ महिलाले सन्तानलाई जन्म दिएका छन् ।

    दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई जन्म दिएको अस्पतालले जनाएको छ । वैशाखमा आठ र जेठमा सात गरी १५ को ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको छ । बाहिरबाटै कोभिड भएर आएका वा अस्पताल आएपछि पत्ता लागेका महिलालाई अरुबाट छुट्टै राखेर प्रसूति सेवा दिइएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए।

    अस्पतालले चार आइसियूसहित ८४ शय्या कोभिड लागेर आउने गर्भवतीका लागि छुट्टाएको छ । अस्पताल आउँदा नै लक्षण देखिएका र शङ्का लागेका बिरामीलाई अरुबाट छुट्टाइने गरिएको उपनिर्देशक अधिकारीले बताए। उनीहरु अरुबाट छुट्टाएर राखेर पिसिआर परीक्षण गरेर पोजेटिभ आएमा ‘आइसोलेसन’ शय्यामा राखिन्छ । उनले भने कसैलाई शुरुमा नदेखिएकालाई अस्पतालमा भर्ना गरिएपछि सङ्क्रमण भएमा पनि पछि आइसोलेनमा राखिन्छ ।

    अस्पतालले थापाथलीस्थित भवन र कुपण्डोलस्थित भवनमा कोभिडका लागि शय्याको व्यवस्था गरेको छ । थापाथलीमा सङ्क्रमित महिलाका लागि पाँच अक्सिजनसहितका शय्या गरी ३० शय्या छुट्टाइएको छ । त्यस्तै कुपण्डोलमा अक्सिजनसहित ५० शय्या हाइ डिपेन्डेन्सी युनिट रहेको छ । सो भवनमा आवश्यक चिकित्सकसहित टोलीको व्यवस्था छ । उपचारमा रहेका कुनै पनि बिरामीका लागि चार आइसियू कोभिडलाई छुट्टाइएको छ । सङ्क्रमित गर्भवती महिलालाई प्रसूति सेवाका लागि छुट्टै कोठाको व्यवस्था मिलाइएको छ ।

    थापाथलीमा सुत्केरी र गर्भवती मात्रै राखिने गरिएको अस्पतालले जनाएको छ । कुपण्डोलस्थित ५० शय्यामा भने गर्भवतीसँगै अरु महिलालाई पनि राख्ने गरिएको अस्पतालले जनाएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत अरु अस्पतालले त्यहाँ शय्या खाली नहुँदा महिलालाई पठाउने गरेको छ ।

    अस्पतालमा कुपण्डोलमा १२ र १५ थापाथलीमा गरी अहिले २७ महिला सङ्क्रमित छन् । कोभिड र अरु बिरामीलाई अस्पताल प्रवेश गर्नासाथ ट्रायलबाट छुट्टाउने व्यवस्था मिलाइएको उपनिर्देशक अधिकारीले बताए। शङ्का लागेका महिलालाई पिसिआर गरेर पोजिटिभ हुँदा आइसोलेसन र नभएमा सामान्य वार्डमा राखिने उहाँले जानकारी दिए। कुनै पनि महिला उपचारका लागि अस्पताल प्रवेश गरेपछि उनका परिवारको वा सम्पर्कका व्यक्तिलाई सङ्क्रमण त्यसका आधारमा आवश्यक पर्ने व्यक्तिलाई पिसिआर गरिन्छ ।

    सबै बिरामी र कुरुवालाई माक्स, भाइजर र दूरी कायम गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । एक तिहाइ कर्मचारी सङ्क्रमित भए पनि सेवामा समस्या नपर्ने गरी व्यवस्था मिलाइएको छ । पहिलो कोभिडमा जसरी अहिले धेरै स्वास्थकर्मीलगायतका कर्मचारी सङ्क्रमित छैनन् । स्वास्थ्यकर्मीलगायत कर्मचारी खोपका कारण र अघिल्लो वर्ष काम गरेकाले बढी सजग हुँदा अहिले सङ्क्रमण कम सङ्ख्यामा देखिएको हो । स्वास्थ्यकर्मीले आआफ्नो घरघरमा आफन्त बिरामी भएको देखेकाले पनि सहयोग गर्नुपर्छ भन्ने भावना रहेको उनले बताए।

    अस्पतालमा केही समय पहिलेसम्म अक्सिजनको समस्या भए पनि अहिले समाधान हुन थालेको अस्पतालका उपनिर्देशक अधिकारीले बताए। बहिरङ्ग सेवासमेत निरन्तर गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा बहिरङ्ग सेवा अवरुद्ध गर्दा आकस्मिक सेवामा बढी चाप हुने भएकाले बहिरङ्ग सेवालाई नियमित गरिएको हो ।

    गर्भवती अवस्थामा वा सुत्केरीमा कुनै पनि महिलाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले त्यही समयमा कोभिड हुँदा जोखिम बढ्ने उपनिर्देशक अधिकारीले बताए। अनुसन्धानले पनि यो अवस्थामा जोखिम भएकाले अझै बढी ध्यान दिनुपर्ने पाइएको उनले बताए। अरु सङ्क्रमितजस्तै गर्भवतीमा सङ्क्रमण भएमा निमोनिया, सास फेर्न कठिनलगायतका समस्या हुन्छ । आमा कोभिड भएपनि जन्मने बच्चालाई कोभिड हुने सम्भावना कम देखिएको छ । उनले भने आमा आफैँले बच्चालाई समाउँदा ख्याल गरेन भने मात्रै सर्नसक्छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस