रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर
धनगढी – भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्कनुभएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लागे ।
महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्केका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाए। “घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँच्न गाह्रो भो त्यसैले बरु रोग लागेर मरे मरिएला तर भोकबाट त बचौँ भन्ने लागेर भारतको बैङ्गलोर जान लागेको हो”, श्यामकुमारले भने । यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था रहेकाले जान लागेको श्यामकुमारकी श्रीमतीले गुनासो गरिनन् । हातमा दुधे बालक च्यापेकी उनले यहाँ बसे रोगभन्दा पनि भोकले मर्नुपर्ने अवस्था आयो त्यसैले फर्किन लागेको बताए ।
महामारीबाट बच्न घर फर्किएका आफूहरू महामारीकै बीचमा फेरि पनि भारत फर्कनुको कारण भोककै पीडा भएको भारतको पञ्जाब जानका लागि गौरिफन्टा नाकामा भेटिएकि हर्क लामाले गुनासो गरे । भारतमा कोरोना महामारी डरलाग्दो गरी फैलिएपछि एक महिना पहिले नेपाल फर्किएका लामाले स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुन थालेपछि पुनः भारत जान बाध्य भएको बताए । “रोगको डरले भारतबाट नेपाल आए, तर फेरि भोकको डरले भारत नै फर्कँदैछु”, लामाले निन्याउरो अनुहार लगाउँदै दुखेसो पोखे ।
घरमा खानलाउनकै समस्या भएपछि श्यामलाल र हर्कजस्तै भोकले सताएको कारण भारतबाट आएको दुई महिनामै फेरि फर्कन लागेको कैलालीका मोहन विक पनि कमाउने कुनै बाटो नभएकाले उतै जान लागेको बताए । भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् । भारतमा स्थिति भयावह हुँदा नेपाल फर्किएकाहरू बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।
कैलालीमा निषेधाज्ञा जारी छ तर यसैबीच गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली भारत पलायन भइसकेका छन् । अहिले सीमामा नेपाली नागरिकलाई भारत जान रोक छैन भने भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस