• जीवनशैली | Jiwanshaili
  • ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेशन’ स्थापना गरिने


    काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा ९एमाले० का नेता स्व पशुपति चौलागाईंको स्मृतिमा ‘स्व पशुपति चौलागाईं स्मृति फाउन्डेशन’ स्थापना गरिने बताएका छन् ।

    वाग्मती प्रदेशका प्रदेशसभा सदस्य स्व चौलागाईंको १३औँ दिनको पुण्यतिथिमा जिल्ला कमिटी दोलखाद्वारा भर्चुअल माध्यमबाट आज आयोजित स्मृति सभामा सरकारका प्रवक्ता गुरुङले स्व चौलागाईंले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपनालाई पूरा गर्न फाउन्डेशनमार्फत सहयोग पुग्ने अपेक्षा गरे ।

    उनले भने, “उनको योगदानको सधैँ संरक्षण गर्नुपर्ने दायित्वप्रति सधैँ समर्पित रहने छु, त्यसका लागि उहाँको नाममा परिवारका साथ सहयोगबाट प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने मेरो सोच छ ।” प्रतिष्ठान परोपकारी संस्थाका रुपमा सञ्चालन हुने र त्यसमा आफूले हरसम्भव सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

    मन्त्री गुरुङले दोलखाको माटोमा जीवनको पहिलो पाइला टेकेर राजनीतिक चेतनासँगै कम्युनिष्ट आन्दोलनमा समाहित भई स्व चौलागाईं आन्दोलनको नेताकै हैसियतामा निधन भएको स्मरण गर्दै उहाँले दोलखा र सिङ्गो मुलुकप्रति गरेको योगदान सधैँ जीवित रहने बताउनुभयो ।

    मनमोहन मेमोरियल अस्पतालमा उपचाररत चौलागाईंको गत वैशाख २८ गते मङ्गलबार राति कोरोना भाइरसका कारण निधन भएको हो । दोलखा प्रदेशसभा (ख) बाट निर्वाचित भएका चौलागाईं यसअघि प्रतिनिधिसभा सांसदसमेत हुनुहुन्थ्यो । चौलागाईं युवा सङ्घका पूर्वअध्यक्ष र पछि पार्टीको वाग्मती अञ्चल कमिटीको इन्चार्जसमेत बनेका थिए। चौलागाईंका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् ।

    मन्त्री गुरुङले भने, “स्व चौलागाईंले बनाएका आस्थाको धरोहर, राजनीतिक छवि, असल राजनीतिक संस्कार कहिल्यै मर्ने छैन र एकजना अनुयायीको नाताले मर्न दिने छैनौँ ।” उनले नेपाल कम्युनिष्ट पार्टी स्थापनापश्चात् दोलखामा कम्युनिष्टको बीउ रोप्ने बेलादेखि मुलुकमा पटकपटक भएका परिवर्तनका आन्दोलनमा स्व चौलागाईंले पु¥याएको योगदानको चर्चा गरे ।

    एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले स्व चौलागाईंले दोलखा र समग्र नेपालको विकासमा पुराएका थिए योगदानको स्मरण गर्दै उनका सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । एमालेका नेता लालकुमार केसीले नेता चौलागाईंको निधनले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको बताए । एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्व चौलागाईंका प्राप्त गरेका उपलब्धिलाई प्रतिष्ठानमार्फत संस्थागत गरिने जानकारी दिए।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस