• जीवनशैली | Jiwanshaili
  • नेपालमा साढे दुई करोड जनसङ्ख्या इन्टरनेटको पहुँचमा


    काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेकोे छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७-७८ को आठ महिना गएको साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गएको माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।

    नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण २०११-२०३० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

    प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । फागुनसम्म मोबाइल इन्टरनेटको हिस्सा ६४ दशमलव ०८ प्रतिशत छ । एक करोड १५ लाख ६५ हजारभन्दा बढीको पहुँचमा थ्री जी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९० लाख ९४ हजार र एनसेलको २४ लाख ७० हजार रहेको जनाइएको छ । गत माघमा एक करोड १३ लाख ५१ हजार प्रयोगकर्ता रहेकामा फागुनमा दुई लाखभन्दा बढी थ्री जीका प्रयोेगकर्ता थपिएका छन् ।

    त्यस्तै, फोर जीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको छ । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । आठ महिनामा एनसेल कम्पनीका फोर जीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ । गएको माघको तुलनामा फागुनमा पाँच लाख ३० हजार ८०६ जना बढेका छन् । माघमा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए ।

    प्राधिकरणको तथ्याङ्कअनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको फोर जीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गएको माघको तुलनामा फागुनमा ४४ हजार ५७० जनाले वृद्धि भएको छ । माघमा फोर जीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए । यसैगरी, स्मार्ट टेलिकमका फोर जी प्रयोगकर्ता दुई लाख २३ हजार १४५ जना पुगेको छ । गएको माघको तुलनामा फोर जीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोर जीका मात्र ग्राहक रहेका छन् ।

    फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ३५ प्रतिशत रहेको छ । यसमा एडीएसएलका आठ लाख १२ हजार र एफटीटीएच इन्टरनेट ५९ लाख ४२ हजारभन्दा बढी छन् ।


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस