• जीवनशैली | Jiwanshaili
  • ब्ल्याक फंगस के हो ? यसबाट कसरी बच्ने ?


    दोस्रो लहरको कोरोना संक्रमण दर घटिरहेको छ ।

    साथै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या समेत बढिरहेको छ । तर यो पटक ब्ल्याक फङ्गसको सङ्क्रमण भने बढ्दो मात्रामा रहेको छ । यसले अहिले महामारीको रूप लिन थालेको छ । कोरोनाका कारण चिन्तित व्यक्तिमा अब यो फङ्गसको चिन्ता समेत थपिएको छ । यसलाई लिएर जनचासो समेत बढिरहेको छ ।

    के फङ्गस उपचारका लागि अस्पताल जानु पर्छ ?

    यो कति सङ्क्रामक छ ?

    जस्ता जिज्ञासा बढ्नु स्वाभाविक समेत मानिएको छ ।

    ब्ल्याक फङ्गसका सबै बिरामी अस्पताल जान जरुरी छ

    कोरोनाबाट कोही व्यक्ति मुक्त भएको छ र त्यो पश्चात् उसमा ब्ल्याक फङ्गसको लक्षण देखिएको छ भने तुरुन्त अस्पताल जानु पर्ने चिकित्सकहरु बताउँछन् । तुरुन्तै अस्पताल भर्ना भएर समय मै उपचार गर्नु यो रोगमा जरुरी छ । फङ्गस उपचारमा समेत केही समय लाग्ने गर्छ । नाकमा भएको फङ्गस निकाल्नु पर्छ जसले गर्दा शरीरको अन्य भागमा फैलिन पाउँदैन । त्यसैले स्वयम् ठिक गर्छु भनेर नलागी अस्पताल भर्ना हुन जरुरी छ ।’

    के लगातार मास्क लगाउँदा समेत कोरोनाका बिरामीलाई ब्ल्याक फङ्गस हुन्छ ?

    अहिले सामाजिक सञ्जालमा यस विषयमा चर्चा चलिरहेको छ । तर धेरैलाई जानकारी नहुन सक्छ, यो फङ्गस पहिलेदेखि नै पर्यावरणमा रहिरहेको छ । धुलो, माटो भएको स्थानमा यो फैलिने सम्भावना रहन्छ । पहिला हाम्रो रोग प्रतिरोध क्षमता बढी थियो । त्यसैले सङ्क्रमणको खतरा कम थियो । मास्कले बचाउँछ या बचाउँदैन भन्न अलिक हतार गरे जस्तो हुन्छ । किन भने रोग प्रतिरोध क्षमता बढी भएको व्यक्तिमा फङ्गसले आक्रमण गर्न सक्दैन । कोरोना भाइरसले रोग प्रतिरोध क्षमता घटाएको अवस्थामा यसको सङ्क्रमणको सम्भावना उच्च रहन्छ ।

    ब्ल्याक फङ्गसको केस किन बढिरहेको छ ?

    पछिल्ला केही दिनयता यसको संक्रमणदर उच्च देखिएको छ । यसको कारण दोस्रो लहरको कोरोना सङ्क्रमणको समय प्रयोग हुने अक्सिजन र स्टेरोइडको अधिक प्रयोग हो । डाक्टरको निरन्तर सम्पर्कमा हुने व्यक्तिको संख्या कम थियो । धेरै जना घर मै आइसोलेसनमा बसिरहेका थिए । यहीबीच मधुमेहका रोगीमा सुगर लेभल अझ बढ्यो । यो समय उक्त विषयमा ध्यान गएन । रोग प्रतिरोध क्षमता घट्यो र फङ्गसको आक्रमण बढ्यो । अस्पताल जानेमा मात्रै नभएर घर मै बसेका कोरोनाका बिरामीमा समेत फङ्गस सङ्क्रमण बढेको छ ।

    के ब्ल्याक फङ्गस कोरोनाका बिरामीलाई मात्रै हुन्छ ?

    नाम ब्ल्याक फङ्गस भए पनि यो कालो रङ्गको हुँदैन । यसको लक्षण नाक, मुख र आँखामा फरक फरक देखिन्छ । त्यसपछि मात्रै यसको असर देखिन थाल्छ । कतिपय समय बिरामीको कारण यसको रङ्ग परिवर्तन हुन्छ । कोरोनाका बिरामीको रोग प्रतिरोध क्षमता कम हुने भएकाले तथा स्टेरोइड बढी प्रयोग गर्नाले सङ्क्रमण दर उच्च हुने गर्छ । यो सँगै मधुमेहका बिरामी जसको सुगर लेभल बढेको छ उनीहरूमा समेत सङ्क्रमण हुने सम्भावना उच्च रहन्छ ।

    यो समस्या दोस्रो लहर मै किन फैलिएको छ ?

    अघिल्लो समयको सङ्क्रमण लहरमा यो पटक फङ्गसको सङ्क्रमण बढेको छ । पहिलेको कोरोनाको प्रकृति भन्दा अहिलेकोले रोग प्रतिरोध क्षमतामा बढी ह्रास आएकाले फङ्गस आक्रमण बढेको हो । त्यसतै स्टेरोइडको अधिक प्रयोग त्यो पनि घर मै रहेर बिना चिकित्सकको सल्लाह प्रयोग गरेकोले ब्ल्याक फङ्गस सङ्क्रमण अधिक देखिएको हो । यो कारणहरूको विषयमा अध्ययन नभए सम्म खुले यस्तो नै हो भन्ने वातावरण छैन ।

    कोरोना नभएका व्यक्तिलाई ब्ल्याक फङ्गस हुन्छ ?

    स्वस्थ व्यक्तिमा ब्ल्याक फङ्गस हुँदैन । तर कोरोना नभएका व्यक्तिमा समेत यसको सङ्क्रमण हुन सक्छ । रोग प्रतिरोध क्षमता कम भएको तथा सुगर लेभल बढी भएका मधुमेहका बिरामीमा यो रोग लाग्न सक्छ ।

    यसको रोकथामका लागि केही सावधानी अपनाउनुपर्छ ।

    कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भइएको छ भने त्यो बेला उपचारमा खटिएका समूहले विशेष ध्यान दिनुपर्छ। अक्सिजनको ट्युब र मास्क सेयर गर्न मिल्दैन, बिरामीपिच्छे अलग हुनुपर्छ। बिरामीलाई भेन्टिलेटरमा राख्दा ह्युमिडिफायरको पानी हरेक दिन फेरिरहनुपर्छ। त्यसो नगरे यी ठाउँमा ढुसी पर्न सक्छन्। हामीले सास फेर्दा त्यही ढुसी नाकबाट छिरेर समस्या शुरू हुन्छ।

    बिरामीले आफूखुशी जथाभावी स्टेरोइड्स औषधि सेवन गर्नु हुँदैन। चिकित्सकको सल्लाह अनुसार उहाँहरूको निगरानीमा मात्रै प्रयोग गर्नुपर्छ। मुख एकदमै सफा राख्न जरुरी छ। दाँत माँझ्ने, मुख कुल्ला गरिरहन भुल्नु भएन। बेटाडिनले गार्गल गरे पनि हुन्छ। कोभिडको उपचारमा रहेका वा निको भइसकाले पनि मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नाकबाटै ढुसी छिर्ने भएकाले मास्क लगाउनैपर्‍यो। मधुमेह वा अन्य कुनै रोग छ भने आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता कसरी बढाउने भन्नेबारे चिकित्सकलाई सोध्नुपर्छ, सुगरलाई नियन्त्रणमा राख्नुपर्छ।

    शुरुआती अवस्थामै रोग पत्ता लाग्यो भने यसको उपचार सहज छ। अहिलेका धेरैजसो रिपोर्टमा पिनास देखिएको छ। यस्तोमा सुईबाट एन्टिफंगल औषधि दिन सकिन्छ। तर, यस्ता औषधि त्यति सजिलै पाइँदैनन्। अलिअलि नाक बन्द भयो, सिँगानमा अलिअलि रगत आयो, अलिअलि आँखा सुन्नियो भनेर चुप लागेर बस्नु हुँदैन। अहिले संकटको घडीमा म्युकरमाइकोसिसबारे बरोबर सचेत हुनुपर्छ। यसबारे चासो दिइएन र रोग गम्भीर अवस्थामा पुगेपछि मात्रै चाल पाइयो भने ठूलै अप्ठ्यारो आइपर्नसक्छ।

    शल्यक्रिया मार्फत त्यसले खाएका सबै भाग निकालेर फाल्नुपर्ने हुनसक्छ, आँखै निकाल्नुपर्ने हुनसक्छ। अझै दुःखको कुरा, यसको मृत्युदर ५० प्रतिशत छ। अर्थात्, यो रोग लागेका आधा मान्छेको मृत्यु हुन्छ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस