• जीवनशैली | Jiwanshaili
  • अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ६० खर्बको बजेट प्रस्ताव


    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको लागि ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गरेका छन् ।

    बजेट अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने किसिमको रहेको राष्ट्रपति बाइडेनले दाबी गरेका बीबीसीले जनाएको छ । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिर्नुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

    कोरोना महामारीले समस्या पारेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै प्रशंसा पाएका थिए । यो वर्षको अनुमानित घाटा तीन दशमलव सात ट्रिलियन डलर पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा एक दशमलव आठ ट्रिलियनमा झर्ने उल्लेख छ ।

    महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । बजेटमा आठ सय अर्ब डलरभन्दा धेरै रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ उर्जामा लगानी गर्नका लागि छुट्याइएको छ भने दुई सय अर्ब पूर्वप्राथमिक विद्यालयमा जाने तीन/चार वर्ष उमेरका बालबालिकालाई नि:शुल्क विद्यालयको व्यवस्था गर्न छुट्याइएको छ ।

    बजेट कार्यान्वयनका लागि अमेरिकी संसद काँग्रेसबाट पारित हुनुपर्छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस