• जीवनशैली | Jiwanshaili
  • बालबालिकालाई कोरोना सङ्क्रमण भए स्याहार र उपचार कसरी गर्ने ?


    काठमाडौं । कोरोनाको दोस्रो लहर अहिले चलिरहेको छ ।

    पहिलो चरणको सङ्क्रमण बालबालिकामा धेरै नदेखिए पनि अहिले दोस्रो चरणको सङ्क्रमणले बालबालिकाहरूलाई पनि गाँज्दै लगेको छ । वयस्क व्यक्तिको तुलनामा बालबालिकालाई कोभिडको सङ्क्रमण भएमा स्याहार र उपचार गर्न अप्ठ्यारो अवस्था समेत आउने देखिएको छ । यदि कुनै घरका बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण भएमा कसरी स्याहार र उपचार गर्न सकिन्छ भन्ने विषयमा अहिले विदेशका चिकित्सकहरूले विभिन्न किसिमका उपायहरू सुझाव दिदैं आएका छन् । नेपालमा पनि कोभिडको दोस्रो चरणको सङ्क्रमण देखा परेको कारण अविभावकहरुले यो कुरा जान्नै पर्ने देखिन्छ । किनकि दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण पहिलाको तुलनामा तीव्र र बालबालिकालाई समेत असर गर्ने किसिमको रहेको छ । यस्तो अवस्थामा बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण भएमा के गर्नुपर्छ भन्ने जानकारी हुनु अत्यन्त आवश्यक समेत देखिएको छ ।

    बच्चालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ कि छैन भनेर कुन टेस्ट गर्नुपर्छ ?

    बच्चालाई कोरोना भाइरसको सङ्क्रमण भएको शङ्का लागेमा आरटी–पीसिआर टेस्टनै गर्नुपर्छ । यस्तो अवस्थामा र्यापिड एन्टिजेन टेस्ट पनि गर्न सकिन्छ । तर र्‍यापिड एन्टिजेन टेस्टको रिपोट कहिले काहीँ सही नआउन पनि सक्छ ।

    यदि बच्चालाई कोभिड पोजेटिभ देखियो भने उसको स्याहार कसरी गर्ने ?

    यस्तो अवस्थामा बच्चालाई होम आइसोलेसनमै राख्नु पर्छ । शरीरमा ज्वरोको लेभल १०० फरेनहाईट भन्दा बढी देखिएमा प्यारासिटामोल खुवाउनु पर्छ । झोलिलो खानेकुराहरू खुवाइरहनु पर्छ भने घरमै बनाएको ताजा र स्वास्थबर्धक खानेकुराहरू दिनुपर्छ ।

    स्याहार कसरी गर्ने ?

    यदि बच्चालाई श्वास लिन समस्या देखियो भने, लामो लामो श्वास लिन थाल्यो भने, बच्चामा चिडचिडेपन बढ्न थाल्यो भने र ४ दिन सम्म पनि ज्वरोको मात्र घटेन भने चिकित्सकको परामर्शमा पुग्नुपर्छ ।

    कोरोना पोजेटिभ अभिभावकले बच्चाको स्याहार कसरी गर्ने ?

    यदि घरमा आमा–बाबु र बच्चा मात्र छन् भने यस्तो अवस्थामा घरमै आइसोलेसन बस्न अप्ठेरो हुनसक्छ । यदि आमाको स्याहार नै चाहिने बालबालिका छन् भने आमाले साथै राख्नु पर्ने पनि हुन्छ । यस्तो अवस्थामा आमाले हरबखत मास्क भने लगाउनै पर्छ साथै अन्य सावधानी पनि अपनाउनु पर्ने हुन्छ । यदि अभिभावकको साथ नचाहिने उमेरका बालबालिका छन् भने सकभर आफन्तकोमा पठाउनु हुदैंन । उक्त बच्चा मार्फत अर्को परिवारलाई कोरोना सङ्क्रमण हुन सक्ने सम्भावना हुन्छ ।

    यदि आमालाई कोरोना भएको छ भने बच्चालाई दूध खुवाउनु हुन्छ ?

    बच्चालाई आमाको दूध नै सर्वोत्तम हुने हुनाले आमालाई यदि कोरोना भएको छ भने पनि उनले बच्चालाई दूध खुवाउन सक्छिन् । तर आमाले सावधानी भने अपनाउनै पर्ने हुन्छ । यस्तो बेलामा बच्चालाई दूध खुवाउँदा मास्क लगाउने, स्यानिटाइजरले हात सफा गर्ने गर्नुपर्छ । आमाले पम्प मार्फत दूध झिकेर बोटलमा हालेर पनि बच्चालाई खुवाउन सक्छिन् ।

    बच्चालाई मात्रै कोरोना देखियो आइसोलेट कसरी गर्ने ?

    बच्चालाई एक्लै राखेर आईसोलेट गर्दा उसमा एन्जाईटी देखिने समस्या धेरै हुन्छ । यस्तो अवस्थामा एक जना अभिभावकले कोभिड सर्न नदिने सुरक्षा अपनाएर, सकेसम्म पिपिई लगाएरै भए पनि नजिकै बस्नु पर्छ । यसरी बच्चाको साथमा बस्ने अभिभावकले भने घरका बाँकी सदस्यहरूसँग सम्पर्क राख्नु हुँदैन ।

    बालबालिकामा कोरोना पुनः देखिने सम्भावना हुन्छ की हुँदैन ?

    यो विषयमा स्पष्ट सोध हुन सकेको छैन । वयस्क व्यक्तिलाई दोहोर्‍याएर कोभिड भएको कारण बालबालिकालाई पनि हुन सक्ने सम्भावना बढी नै हुन्छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस