• जीवनशैली | Jiwanshaili
  • एसईई वैकल्पिक मूल्यांकन विधिबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय


    काठमाडौं । कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई वैकल्पिक मूल्यांकन विधिबाट गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।

    बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार जेठ १४ गते बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो ।

    प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

    कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिए । कोरोना संक्रमणको जोखिम बढेदै गएपछि बार्डले गत वैशाख २७ गते १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो ।

    बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसइई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । कक्षा १२ को वार्षिक परीक्षाको लागि भने तत्काल केही निर्णय नभएको पौडेलले बताए । कक्षा १२ को परीक्षा कुन विधिबाट गर्ने भन्ने विषयमा छलफल चलिरहेपनि अहिले निर्णय भने नभइसकेको उनको भनाइ छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस