• जीवनशैली | Jiwanshaili
  • जापानमा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना खोप दिइने


    एजेन्सी जेठ १६ । जापानमा फाइजरको कोरोना भाइरस विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएको थियो ।

    दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने अनुमति दिइएको हो । जापानी सरकारले गएको फेब्रुअरी महिनामा फाइजर खोपलाई अनुमति दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई खोप लगाउन सुरु गरेको थियो । यस्तै ज्येष्ठ नागरिकका लागि यही अप्रिल महिनामा खोप अभियान सुरु भएको थियो ।

    जापानले नौ करोड सत्तरी लाख नागरिकका लागि फाइजरको खोप प्राप्त गरिरहेको छ । अमेरिकी कम्पनी मोडेर्ना इंकले १२ देखि १७ वर्षसम्मका बालबालिकामा यो खोपको प्रभावकारिता देखाउँदै क्लिनिकल अध्ययनको परिणाम पनि सार्वजनिक गरेको छ र केही देशमा यसको उपयोग विस्तार गर्ने तयारी गरिरहेको छ । अहिले यो खोप १८ वर्षमाथिका उमेर समूहकालाई लगाउन अनुमति दिइएको छ ।

    जापानले यही महिनाको सुरुवातमा मोडेर्नाको कोरोना खोपलाई अनुमति दिएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस