उपत्यकामा निषेधाज्ञा थप्ने तयारी
काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाही अन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ ।
तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे । सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस