• जीवनशैली | Jiwanshaili
  • बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित


    मनाङ / लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

    उनका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति पुगेको छ । चार घरका २३ सदस्या त्यस क्षेत्रबाट पूर्णरूपमा विस्थापित भएको लामिछानेले बताए। “विस्थापित भएका सबैको घरको पछाडिको भाग पूर्णरूपमा भत्किएको छ, विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गरेका छौँ”, उनले भने ।

    खोलाको डुबानमा परेका घरहरुबाट सामग्रीहरु समेत स्थानान्तरण गरिसकिएको प्रजिअ लामिछानेले बताउनुभयो । घट्टेखोलाको बाढीले सोही स्थानमा रहेको पक्की पुललाई समेत असर गरेको उनको भनाइ छ । बाढीले पुलमा काठ, ढुङ्गा र माटोले पुरेकामा सबै हटाउन भ्याइएको उनले बताए ।

    नयाँबजारको वर्कसपमा खोलाको डुबानमा परेका सात वटा मोटरसाइकल समेत निकालिएको छ । स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी त्यस क्षेत्रको जनजीवनलाई सहज बनाउने कार्य गरिएको छ । बाढीले अनिताको घरमा मिलन गुरुङले फ्रेस हाउस र कर्मा घलेले किराना पसल सञ्चालन गरेका थिए । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा बाढी प्रभावित क्षेत्रको सरसफाइ गरिएको छ ।

    त्यस्तै कोभिड–१९ को महामारीमा बाढीले त्यस क्षेत्रका सर्वसाधारणलाई एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएपछि यहाँका स्थानीयवासी आतङ्कित बनेका छन् । सङ्क्रमणमा एकै ठाउँमा जम्मा हुँदा एकअर्कोमा सर्नसक्ने भन्दै त्रसित बनेका हुन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस