• जीवनशैली | Jiwanshaili
  • दरबार हत्या काण्डको २० वर्ष पुरा,हत्याकाण्ड अझै रहस्यकै गर्भमा


    काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ ।

    २०५८ साल जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

    प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । त्यतिबेला यो प्रस्ताव मन्त्रीपरिषद्सम्म पुगेको भएपनि पछि त्यसै सेलायो । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यबाजी गर्न नछाडेको प्रतिशोधमा निधिले त्यतिबेला छानबिनको कुरा उठाएका थिए । तर पछि यो कुरा अघि बढाइएन ।

    हत्याकाण्ड अझै रहस्यकै गर्भमा

    उच्चित छानबिनको अभाव र प्रमाणहरु नष्ट गरिदिनाले हत्याकाण्ड अझै रहस्यकै गर्भमा रहेको छ । त्यसवेलाका विभिन्न घटनाक्रमले यस हत्याकाण्डलाई रहस्यमयी वनाएको हो । हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो । यस कुराले संकालाई अझ प्रत्सय दिंदै गयो । यससँगै हत्याकाण्डको छानबिनका लागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोकियो । जसले गर्दा सही रुपमा अनुसंधान हुन सकेन । तीन सदस्यीय त्यस समितिमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल बस्न मानेनन् । सुरुमै समिति अबैधानिक समेत भयो । हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो । यस ब्यवहारलाई पनि संकास्पदरुपमा हेरियो । आखिर किन घटनाका प्रमाणहरु छोप्ने काम भए त ?
    हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ । यो कसरी संभव छ ? अर्को पक्ष, गोली चलाउने तत्कालिन युवराज दीपेन्द्र हो भनियो । तर, उनलाई चाहिं कस्ले र कसरी गोली हान्यो भन्ने प्रश्न पनि आजसम्म अनुत्तरित नै छ । तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन । त्यसलाई कतिपयले दरबार हत्याकाण्डको शृङखलाकै रुपमा आजसम्म बुझिरहेका छन् ।
    परिवारकी सदस्य प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो । यस घटनालाई पनि आम मानिसले दरबार हत्याकाण्डसँग नै जोडेर बुझिरहे । समग्रमा दरबार हत्याकाण्ड रहस्यमयी हुनुमा यसको उचित छानमिन हुन नसक्नु नै हो । छानबिनका लागी आवश्यक विषय र घटनाहरु नष्ट गर्न तत्कालिन दरबारको शक्ति नलागेको भए आजसम्म यस घटनाले यति धेरै चर्चा नपाउन सक्थ्यो ।

    यी ६ कारणले रहस्यमय भयो हत्याकाण्ड

    १. दरबार हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो ।

    २. हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोक्दा सही अनुसंधान हुन सकेन ।
    ३. हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो ।

    ४. हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ ।

    ५.तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन ।

    ६.परिवारकी सदस्य प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस