• जीवनशैली | Jiwanshaili
  • विश्व वातावरण दिवस: वातावरण र मानवबीचको सम्बन्ध


    काठमाडौं । आज विश्व वातावरण दिवस वातावरण संरक्षणका पहलको वकालत गर्दै मनाईँदैछ ।

    नेपालमा ‘ नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको महामारीका कारण धेरै कार्यक्रम गरिएको छैन । भर्चुअल रुपमा विभिन्न क्षेत्रले दिवसको अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । मानव जाति आफू बस्दै आएको वातारणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।

    हालै सरकारले ल्याएको आउँदो वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुंगा गिट्टी, बालुवासहितका नदीजन्य सामग्रीको दोहन गर्नका लागि मार्ग प्रशस्त गरेको भन्दै संरक्षणकर्मीसहित विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । सरकारले चुरे दोहनको कुनै उद्देश्य नरहेको बताए पनि बजेटको व्यवस्थाले विगत सात वर्षदेखिको प्रतिबन्ध फुकुवा गरेको भन्दै विरोध भइरहेका बेला वातावरण दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनर्स्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।

    वातावरण र मानवबीचको सम्बन्ध

    पृथ्वी ८० लाख बोट बिरुवा र पशु प्रजातिहरूको साझा घर हो भने जैविक विविधताको जलमाथि र जलमुनिका सबै जीवनको अस्तित्व हो । जैविक विविधताले पृथ्वीको स्थलीय, पानी र समुद्री विभिन्न प्रजातिहरूका प्रकार, भिन्नता, अन्तरसम्बन्ध साथै उनीहरूको वासस्थानसमेतलाई जनाउँछ । पृथ्वीमा सबै प्राणी र जीवजन्तुको जीवनका लागि मात्र नभई मानव समाजलाई फस्टाउन आवश्यक पर्यायवरणीय वस्तु र सेवाहरूका लागि पनि जैविक विविधताको विशेष महत्त्व छ । जैविक विविधताले हामीलाई खाना, पानी र संशाधनका साथै जलवायु नियन्त्रण, परागण, प्रकोप निवारण र यी परिचक्रलाई चलायमान बनाउँछ । यस परिचक्रको एउटा तत्त्व हटाउँदा सम्पूर्ण जीवन प्रणालीलाई असर गर्छ र नकारात्मक परिणाम उत्पन्न गर्न सक्ने हुँदा प्रत्येक जीवको जीवन सन्तुलन कायम राख्न अतिआवश्यक छ । वन विनास, वन्यजन्तुको आवासमा अतिक्रमण, तीव्र कृषि र जलवायु परिवर्तनलगायत मानवीय कार्यहरूले प्रकृतिमाथि ज्यादतीको सीमा नाघेको छ, जसको प्रत्यक्ष असर जैविक विविधतामा परेको छ । जैविक विविधता नष्ट गर्दै गर्दा हामीले मानव जीवनलाई समर्थन गर्ने प्रणालीसमेतलाई नष्ट गर्दै छौँ । विगत ५० वर्षमा करिब ६० प्रतिशत वन्यजन्तुको संख्या घटेको र सङ्क्रामक रोगयुक्त जीवाणु, जनावरबाट मान्छेमा सर्ने क्रम ४ गुणाले बढेको संयुक्त राष्ट्र संघको तथ्याङ्क छ । यूएनईपीकै भनाइ उद्धृत गर्ने हो भने हाल हामी जीवनको नाजुक अवस्थाको सामना गरिरहेका छौँ । प्रकृतिले हामी मानव जाति नै विनाशको सङ्घारमा रहेको सङ्केत गर्दै छ भने झण्डै १० लाख जनावर र बोट प्रजातिहरू संसारबाट चाँडै लोप हुने अवस्थामा छन् ।

    अहिले विश्व नै एउटा यस्तो मोडमा उभिएको छ, जहाँबाट धेरै अस्तित्वहरू नामेट हुने र धर्तीबाट पूर्ण रूपमा बिलाउने खतरा छ । अस्ट्रेलियामा व्यापक रूपमा फैलिएको विनाशकारी डढेलो राम्रोसँग निभ्न नपाउँदै विश्व अहिले नोबल कोरोना भाइरस अर्थात् कोभिड– १९ को माहामारीले आक्रान्त भई घरभित्रै थलिएको अवस्थाका बीच विश्व वातावरण दिवस मनाइरहँदा यसपालिको नारा ’जैविक विविधता’ र ’प्रकृतिका लागि समय’ अझ बढी सार्थक र सान्दर्भिक देखिन आउँछ । मानव क्रियाकलापको असरले सिर्जित जलवायु परिवर्तन, जलवायु परिवर्तनले बढाएको पृथ्वी सतहको तापक्रम अनि बढ्दो तामक्रमले निम्त्याएको डढेलो । यसैगरी वन जङ्गलको विनाश, पशुपन्छीको उठिबास र मानव–जङ्गली जनावरबीचको द्वन्द्व र सङ्घर्षको फलस्वरूप भित्रिएको महामारीले पुष्टि गरिसकेको छ कि मानव क्रियाकलाप र मानव स्वास्थ्य कति घनिष्ठ रूपमा प्रकृति र प्राकृतिक संसारसँग जोडिएको छ ।

    हामी प्रकृतिसँग यति निजकसँग जोडिएका छौँ कि प्रकृतिविना हाम्रो अस्तित्वको कल्पनासम्म पनि गर्न सकिँदैन वा भनौँ हामी (मानवजाति) विना पनि प्रकृति (अझ सुन्दर तरिकाले) चल्न सक्छ तर प्रकृतिविना हामी चल्न असम्भव छ । त्यसैले मानिसले आफूलाई प्रकृतिभन्दा भिन्न ठानेर प्रकृतिसंग शत्रुता देखायो भने यसको विनाश निश्चित छ, प्रकृति भनेको सृष्टि हो र सृष्टिको क्रम निरुन्तर निर्वाध चलिरहन वातावरण शुद्ध हुनैपर्छ । यदि हामीले वातावरण दूषित बनाउँदै गयौं भने अहिले जेजति समस्या भोगिरहेका छौं भावी दिनमा अकल्पनीय समस्याको सामना गर्न तयार हुनुपर्छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस