रेडियोमा ‘हेलो लोक सेवा’
बागलुङ / विद्यार्थीलाई स्वअध्ययनतर्फ उत्प्रेरित गर्न बरेङ गाउँपालिकाले स्थानीय रेडियोमार्फत् ‘हेलो लोक सेवा’ कार्यक्रम शुरु गरेको छ । लक्षित वर्ग उत्थानअन्तर्गत गाउँपालिका र सामुदायिक रेडियो बिहानीको साझेदारीमा शनिबारदेखि उक्त कार्यक्रम शुरु गरिएको हो । अबदेखि हरेक बिहान १० देखि ११ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम खुला प्रतियोगितात्मक हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाभित्रका इच्छुक विद्यार्थी तथा लोक सेवा तयारी गरेर बसेका सबैले भाग लिन पाउनेछन् ।
प्रश्नहरू लोक सेवा आयोगले निर्धारण गरेको खरिदार वा सो समूहको पाठ्यक्रमबाट सोधिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए । प्रतियोगिताका विजेतालाई गाउँपालिकाले लोक सेवाका अध्ययन सामग्रीसहित पुरस्कार प्रदान गर्ने उनको भनाइ छ ।
विद्यार्थीले रेडियोले उपलब्ध गराएको टेलिफोन नम्बरका माध्यमबाट कार्यक्रममा भाग लिन सक्ने प्रबन्ध मिलाइएको छ । प्रश्नपत्र निर्माण र त्यसको गोपनियता कायम गर्ने जिम्वेवारी रेडियोले लिएको स्टेशन प्रमुख शेखर थापाले बताए ।
“आउँदो असार मसान्तसम्म यो कार्यक्रम नियमित चल्छ”, उनले भने । रेडियोसँग मिलेर गाउँपालिकाले ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’ पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थीमा स्वअध्ययनसँगै प्रतिस्पर्धी भावनाको विकास गराउने, विषयगत शिक्षकलाई सक्रिय बनाउने आदि उद्देश्यले सञ्चालित सो कार्यक्रम छोटै अवधिमा प्रभावकारी देखिएको छ ।
यस्ता कार्यक्रमले स्थानीय सञ्चारमाध्यमको सदुपयोग र सबलीकरणमा पनि टेवा पुग्ने गरेको छ । सोका लागि गाउँपालिकाले रेडियोलाई आर्थिक सहायता पनि उपलब्ध गराउने गरेको छ । कोरोना महामारीको विषम स्थितिमा गत वर्ष रेडियोबाटै वैकल्पिक सिकाइ सहजीकरण र एसइई दिने विद्यार्थीका लागि तयारी कक्षा पनि सञ्चालन गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत थापाले शिक्षालाई पहिलो प्राथमिकता दिएर गाउँपालिकाले लगानी बढाएको बताउनुभयो । जीवनपर्यन्त सिकाइ प्रवद्र्धनका लागि सूचना, प्रविधिको प्रयोगलाई जोड दिइएको उहाँको भनाइ छ । बरेङले शैक्षिक क्षेत्र सुधारका लागि ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ पनि सञ्चालन गरेको छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस