बज्यैको कोरोना विजय
बागलुङ / कोरोना निको भएपछि बागलुङ नगरपालिका–१३ पैँयूपाटा, सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट आज घर फर्केकि छन् । उनलाई धवलागिरि अस्पतालको हाइ डिपेन्डेन्सी युनिट शय्यामा राखेर उपचार गरिएको थियो ।
कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजिन परीक्षणमा यही जेठ ९ गते उनलाई सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति खराब बन्दै गएपछि उहाँ जेठ १३ गते अस्पताल भर्ना भएकि थिइन् ।
एघार दिनसम्मको चिकित्सकीय निगरानी र उपचारपछि पौडेललाई स्वास्थ्यलाभ मिलेको हो । स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरलले बताए ।
अस्पताल पुग्दा उनको शरीरमा अक्सिजनको मात्रा घटेर ७६ मा पुगेको थियो, पखाला, ज्वरोसहितका कडा लक्षण थिए , श्वासप्रश्वासमा समस्या थियो । “उनलाई एचडियूमा अक्सिजन दिएर उपचार ग¥र्यौँ, त्यो उमेरमा पनि चाँडै सुधार भयो, यसलाई राम्रो मान्नुपर्छ”, प्रमुख चिकित्सक पोखरेलले भने ।
पौडेलले यसअघि उच्च रक्तचाप र नशासम्बन्धी रोगको औषधि सेवन गर्दै आए पनि कुनै गम्भीर खालको स्वास्थ्य समस्या भने थिएन । सोही वडाको ठूलाखेतमा छोरा चन्द्रप्रसादसँग बस्दै आउनुभएका पौडेल परिवारका अन्य सदस्य बिरामी पर्न थालेपछि सङ्क्रमणको जोखिमबाट बच्न जेठ ४ गते सिम्लेमा बस्ने अर्का छोरा भवानीकहाँ बस्न थालेकि थिइन् ।
उनलाई त्यहाँ पनि कोरोनाले छाडेन । सङ्क्रमणपछि केही दिन घरमै एकान्तबासमा बस्नुभएका पौडेललाई जेठ १२ गते राति एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समार्फत तुरुन्त धवलागिरि अस्पताल ल्याइएको थियो ।
बेलैमा स्तरीय उपचार पाएका कारण आमालाई बचाउन सकिएको छोरा चन्द्रप्रसादले बताए । “अस्पतालमा राम्रो उपचार, हेरचाह भयो, चिकित्सकले पनि पूरा समय दिएर हेरे”, उनले भने, “कुनै पनि दिन आमाले खाना कम गरेनन्, दूध नियमित सेवन गरे, यसले पनि छिटो निको हुन सघायो कि र ? ”
उपचार, स्वस्थकर आहार र बुढ्यौली उमेरमा पनि आत्मबल हुँदा कोरोनालाई परास्त गर्न हजुरआमा सफल भएकि नाति ज्ञानेन्द्र गौतमले बताइन् । अर्का नाति सुशील पौडेल नगरपालिकाको स्वास्थ्य शाखामा रहेकाले पनि आवश्यक स्वास्थ्य परामर्श, रेखदेख र समन्वयमा सहजता मिलेको छोरा चन्द्रप्रसादको भनाइ थियो । धेरै उमेरकी पौडेललाई कोरोना लाग्दा परिवारजन चिन्तित थिए । निको भएर घर फर्कँदा भने सबै खुशी छन् । छिमेकका सङ्क्रमितमा मनोबल र विश्वास बढेको छ ।
कोरोनाको दोस्रो लहरबीच जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ९८५ छ । कोरोनाका कारण हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा गम्भीर प्रकृतिका सङ्क्रमितको चाप कम हुँदै गएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस