शोषित वर्गको मुक्तिमा जीवन बिताउने कार्ल मार्क्स
विश्व कम्युनिस्ट आन्दोलनका अग्रणी तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्सको जीवन आफैंमा रोचक छ । लाग्छ, उनी स्वयं संघर्षका उदाहरण हुन् ।
मार्क्सको जन्म ५ मे १८१८ को दिन ट्रिर शहरको एक वकिल परिवारमा भएको थियो । उनका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्ति थिए । मार्क्सकी आमाको नाम भने हेनरी येट्रर हो । १८३० देखि १८३५ सम्म मार्क्सले ट्रिर जिम्नेसियम स्कुलमा आफ्नो प्रारम्भिक अध्ययन पूरा गरे । किशोर माक्र्सको बौद्धिक प्रतिभाको प्रस्फुटन त्यस बेला भयो, जुन बेलामा उनले ‘पैसा छनौटबारे एक किशोरको विचार’ भन्ने निबन्ध लेखे ।
उक्त निबन्ध प्रबोधन कालको प्रगतिशील विचारधाराद्वारा ओतप्रोत छ । अक्टोवर १८३५ मा मार्क्स बोन विश्वविद्यालयमा भर्ना हुँदै कानून विभाग रोजे ।
विश्वविद्यालयमा मार्क्स कानूनशास्त्रको साथै साहित्य, नवीनतम् कला, इतिहास र सौन्दर्यशास्त्रको पनि अध्ययन गर्न पछि परेनन् । बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा भएको हुनाले मार्क्स बोनमा एक वर्ष अध्ययन गरेपछि बर्लिन विश्वविद्यालयमा आफूलाई भर्ना गरे । बर्लिनमा मार्क्सको दैनिकी निकै परिश्रमयुक्त बन्न पुग्यो । फलस्वरुप उनको बौद्धिक विकास तीब्र गतिले हुन थाल्यो । बर्लिनमा मार्क्स कलेजको अध्ययनको साथै स्वतन्त्र अध्ययनमा पनि व्यस्त थिए, जसअन्तर्गत उनले मुख्यतयः दर्शनशास्त्र र इतिहासको अध्ययन गरे । मार्क्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाले, अंग्रेजी र इटालियन भाषा पनि सिक्न थाले । छोटै समयमा मार्क्स बौद्धिक व्यक्तित्व बन्न सफल भए ।
बर्लिन जानुपूर्व मार्क्सले सन् १८३६ को गृष्म कालमा जेनी फोन वेस्टफालेनसँग विवाह गरे । जेनी अभिजात वर्गकी युवती थिइन् । तसर्थ जेनीका बुबा आमाले यस विवाहलाई अस्विकार गर्न सक्ने सम्भावना थियो । जेनी पनि तेज दिमागकी सुन्दर युवती थिइन् भने मार्क्स बौद्धिक प्रतिभा थिए । मार्क्स सामान्य परिवारमा हुर्केका थिए, उनी असाध्यै गरीब परिवारका थिए । तथापि, जेनीले मार्क्सलाई पूर्ण रुपमा साथ दिइन् । जेनी वेस्टफालेन अत्यन्तै गुणी नारी थिइन् । जेनीको तीक्ष्ण बुद्धि सुशीलता र उत्कृष्ट आचरणले मार्क्सलाई खुसी तुल्याएकी थिइन् । त्यही गुणले उनले पनि मार्क्सजस्तो महान् व्यक्तित्वलाई जीवनसाथी रोजिन् ।
मार्क्सले विद्यावारिधिको थेसिस ‘डेमोक्रिटसको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शन बीचको भेद’ विषयमा तयार पारेका थिए । यो नै मार्क्सको पहिलो वैज्ञानिक कृति थियो । जुन आध्यात्मवादी चिन्तनमाथिको खोज थियो । प्रोइसेन राजधानीमा रहेको विश्वविद्यालयमा आफ्नो थेसिसको वास्तविक मुल्याङ्कन हुन सक्दैन भन्ने कुरा मार्क्सले देखिसकेका थिए । तसर्थ उनले इयेना विश्वविद्यालयमा आफ्नो थेसिस पठाए र अप्रिल १८४१ मा दर्शनशास्त्रको विद्यावारिधि डक्ट्रेटको उपाधि प्राप्त गरे । उक्त थेसिस मार्क्सको दर्शन शास्त्रमा अब्बलता प्रमाणित गर्ने कृति बन्यो ।
सबैभन्दा प्रगतिशील र सबैभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गरेका मार्क्सले फ्रेडरिक एङ्गेल्सको रुपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेट्टाए । माक्र्सभन्दा दुई वर्ष कान्छा एङ्गेल्सको जन्म राइन प्रान्तको बार्मेन शहरमा भएको थियो । ‘राजनीतिक अर्थशास्त्रको आलोचनाबारे केही खेस्राहरु’ शीर्षक एङ्गेल्सको कृतिसँग मार्क्सको परिचयपछि उनीहरु बीच पत्र–व्यवहार सुरु भयो । अगस्त १८४४ मा बेलायतबाट जर्मनी फर्कंदा एङ्गेल्सले पेरिसमा मार्क्ससँग भेट गरे । दश दिनको उनीहरुको यस संसर्गबारे एङ्गेल्सले स्मरण गरेका छन्, सबै सैद्धान्तिक क्षेत्रमा हाम्रो पूर्ण रुपमा एकरुपता देखा पर्यो र त्यसै बेलादेखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो ।
मार्क्स र एङ्गेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई दिग्गजहरूको जोडि निर्माण भयो । यस सहयोगले मजदुर वर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीतितिर कार्यनीतिको जग बसालेको थियो । मार्क्स र एङ्गेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुन् । उनीहरुले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरु हिँडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल मार्क्सको सर्वाधिक योगदान रहेको छ । उनले आफ्ना सहकर्मी एङ्गेल्ससँग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्र, पूँजी लगायत दर्जनौं ऐतिहासिक कृतिहरु तयार पारे, जुन कृति साम्यवादी आन्दोलनका लागि मार्गदर्शन बनिरह्यो ।
मार्क्सको निधन सन् १८८३ मा भयो । अहिले मार्क्सको निधन भएको १३५ वर्ष बितिसकेको छ । तथापि उनको मार्गदर्शक सिद्धान्त विश्वभरका कम्युनिष्टहरुका लागि प्रेरणाको स्रोत बनेको छ । सर्वहारा वर्गको मुक्तिका लागि सशस्त्र संघर्षको सिद्धान्त प्रतिपादन गरेका मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्तलाई आजसम्म विश्वका कुनै पनि विद्धान र दार्शनिकले खण्डन गर्न सकेका छैनन् ।
सिद्धान्तका प्रणेता
मार्क्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी मार्क्सवाद भन्छौं, त्यो कल्पनामा होइन, ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन्– मान्छेले आफनो इतिहास आफै बनाउँछ कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन ९हेर्नुहोस्, ‘दी एटिन्थ ब्रुमेएर अफ लुई बोनापार्ट’ को पहिलो अध्याय० त्यो इतिहास बर्गीय शोषण कुन चरणबाट गुज्रिने छ भन्ने कुरामा भर पर्छ । साधारणतया उत्पादन पद्धति, आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने बर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ ।
यो वाक्यले नै मार्क्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको बिचारको खाका प्रस्तुत हुन्छ । यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वाभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पूंजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे ।
बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्टिकोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वेबरले पुंजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्त’लाई प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । बर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट बिशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पूँजीवादी समाजशास्त्रीहरू वेबरकै धरातलमा उभिएर मार्क्सवादको विरोध गर्ने गर्छन् ।
मार्क्सवादमा आएको उतारचढाव
मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञान–प्रविधिको विकासले ल्याउने परिवर्तन अकों अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन, हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता वाहक वा सङ्गठकले तिनलाई डोर्याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ ।
आर्थिक–सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन् । त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस डाइलेक्टिक, भौतिकवाद म्याटेरियालिज्म र इतिहास हिस्ट्रीको सम्मिश्रण हो । त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन ।
त्यसैले मार्क्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’‘मार्क्सवाद, बाइबल, कुरान वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित मुक्ति प्राप्त होस् ।आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास, तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति, समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस