• जीवनशैली | Jiwanshaili
  • पाल्पामा कोरोना सङ्क्रमण–अनुभव


    रामपुर / रामपुर नगरपालिका–३ गण्डकीढिक बस्ने ९२ वर्षीय नामदेव न्यौपानेले कोरोनालाई परास्त गरी घर फर्केपछि उहाँका परिवार, इष्टमित्र सबै खुशी छन् । घरमै आइसोलेशनमा करिब २२ दिन उच्च आत्मबल र अनुशासनका साथ बसेका न्यौपानेको अनुभव यतिखेर बालबालिकादेखि बृद्धसम्म सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।

    उमेरले नौ दशक काटेका न्यौपानेले कोरोना पोजेटिभ देखिएपछि अनुशासनमा रहेर सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्नुका साथै औषधोपचार, खानपानमा राम्रै ध्यान दिएकाले कोरोना जित्न सफल भएको अनुभव सुनाउछन् । जनस्वास्थ्यका मापदण्ड अपनाएर अनुशासनमा बसेमा कोरोना सहजै जित्न सकिने उनको अनुभव छ ।

    “कोरोना केही होइन भनेर जथाभावी हिँड्डुल गर्ने, खानपानमा ध्यान नदिने, स्वास्थ्य सुरक्षा नअपाउँदा जोखिम बढेको छ, मलाई लाग्छ कोरोना हाउगुजीजस्तै हो, अनुशासनको पालना गरौँ, कोरोना भन्दैमा नआत्तिऔँ, आत्मबल बढायौँ भने कोरोना जितिन्छ”, उनले भने।

    उनले घरायसी तथा आधुनिक औषधि पनि सेवन गरे । कोरोना रोग जितेपछि उनि अहिले घरभित्र बाहिर मज्जाले हिँड्डुल गर्छन् । उनलाई गत वैशाख १२ गतेदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । बुबाले कोरोना जितेको देख्दा घर परिवार सबै हर्षित बनेको छोरा विष्णु न्यौपाने बताए ।

    “बुबालाई कोरोना पोजेटिभ देखिएपछि उहाँको रेखदेखमा हामी सबै परिवार सतर्क भएर लाग्यौँ, बुबाले आइसोलेशनमा रहँदा केही दिन होस नपाउने, आत्तिने गर्थे, रेखदेख उपचार निरन्तर गरिरहँदा २२ दिनपछि कोरोना जिते”, उनले भने।

    रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने दोवराज तिवारी पनि पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि २२ दिन घरमै आइसोलेशनमा बसे । उनमा शुरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थिएन । तैपनि पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि आफू, परिवार, आफन्त र छिमेकीको सुरक्षाका लागि घरमै बसे ।

    उनले आइसोलेशनमा रहँदा सरकारले निर्देशन गरेका स्वास्थ्य मापदण्ड पालना गर्ने, नियमित औषधोपचार, स्वास्थ्यकर्मीसँगको परामर्श तथा सल्लाहमा रहे ।

    उनि भन्छन्, “पिसिआरमा पोजेटिभ रिपोर्ट आयो तर आफूलाई शुरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण कुनैपनि देखिँदैन, कोरोना हो या होइन भन्ने दोधार पनि भयो, बीचमा भने सामान्य अप्ठ्यारो महसुस भयो, तर कोरोना लाग्यो भनेर मलाई कत्तिपनि डर भएन” ।

    उनलाई सङ्क्रमण देखिएको खबर सुनेपछि आफन्त, साथिभाई भेटघाटका लागि जाँदा उहाँ आफैँले अरुलाई सङ्क्रमणबारे सजग रहन सिकाउने, आत्मबल बढाउने जस्ता सल्लाह दिने गर्थे ।

    अहिले उनि आइसोलेशनबाट कोरोनालाई पराजित गरेर निस्केपछि सङ्क्रमितका घर घरमा स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्ने र सङ्क्रमित र उनका परिवारलाई आत्मबल बढाउन प्रेरित गर्छन् ।

    पाल्पाको सामूदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक छबिलाल खनालले दुई÷दुई पटक कोरोनासँग लडाइँ लड्नुभयो । खनाललाई गतवर्ष र यसवर्ष कोरोना सङ्क्रमणको भाइरसले आक्रमण ग¥यो तर उहाँ भने कोरोनासँग कत्तिपनि हतोत्साहित हुने, डराउने र बिचलित हुने गरेनन् ।

    आफूुलाई सङ्क्रमण देखिएपनि हिम्मत गरे, आत्मबल बढाए, दुई पटकसम्म कोरोना जिते । उमेरले ५८ वर्ष पुगेका खनालमा गतवर्ष पहिलो पटक कोरोना सङ्क्रमण देखिँदा ढाड धेरै दुख्ने, स्वाद, गन्ध थाहा नपाउने, सामान्य ज्वरो आउने समस्या थियो ।

    पहिलो पटक सङ्क्रमित हुँदा उहाँ २६ दिन घरमै आइसोलेशनमै बसेर कोरोना जिते । दोस्रो पटकको कोरोनाले आक्रमण गरेपछि १६ दिन घरमै आइसोलेशनमा बसेर कोरोना जित्न सफल भएका छन ।

    “पहिलो पटक पोजेटिभ देखिदा कोरोनासँग मिल्दोजुल्दो केही समस्या देखिएको थियो, दोस्रो पटकको कोरोना देखिँदा एक दुई दिन रुघाखोकी लाग्ने बाहेक खासै समस्या भएन, आफूमा कुनै समस्या नभएपनि पोजेटिभ देखिएपछि सतर्क भएर घरमै बसेँ अहिले निको भएपछि आफ्नै दैनिक कामकाजमा लागेको छु”, उनले भने ।

    अहिले उनि पनि कोरोना सङ्क्रमितलाई आत्मबल बढाउन आफ्ना अनुभव सुनाउने गर्छन्। उनले आफूँमा पोजेटिभ सङ्क्रमण देखिएपछि नियमितरुपमा बेसारपानी, तेजपत्ता, तुलसीपत्रलगायतका विभिन्न घरायसी जडिबुटी, स्वास्थ्यकर्मीले दिएका औषधि र सल्लाह तथा परामर्शलाई निरन्तर अबलम्वन गरे ।

    रामपुर नगरपालिका–३ रजघरा बस्ने ७९ वर्षीय केशमाया कंडेलले भने रामपुर अस्पतालको कोभिड अस्पतालबाट कोरोना जित्नुभयो । अस्पतालको आइसोलेशन कक्षमा उपचाररत कंडेलले दश दिन बसेर कोरोना जितेका हुन् ।

    “कोरोना पोजेटिभ देखिएपछि सुरुमा धेरै डर लागेको थियो, केही दिन घरमै आइसोलेशनमा बसेँ, स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना भएँ, मेरो उपचारमा डाक्टरले धेरै खटेर सञ्चो बनाए, अहिले म आफूँलाई बिरामी हुँ जस्तो पनि लाग्दैन” उनले खुशी हुँदै भने। आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद दिएक छन् ।

    कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहनुभएकी कंडेल स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा आउनुभएको थियो । उहाँको स्वास्थ्यमा अलि बढी समस्या देखिएपछि कोभिड अस्पतालमा भर्ना गरेर राखियो ।

    उनले अस्पताल भर्ना हुन आउँदा आत्ति रेहेका थिए स्वास्थ्यकर्मीको निरन्तर औषधि उपचार र रेखदेखले छिट्टै निको बनाएर घर पठाइएको कोभिड फोकल पर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिएका छन् । कोरोनाका बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियारले अनुरोध गरेका छन् ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस