विश्व बाल श्रम विरुद्धको दिवसः विश्वभर बाल श्रमिकको संख्या १६ करोड
काठमाडौं । विश्व बाल श्रम विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
बाल श्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफले जारी गरेको अध्ययन प्रतिवेदन अनुसार पछिल्लो चार वर्षमा विश्वमा ८४ लाख बाल श्रमिक थपिएका छन् । पछिल्ला वर्षहरुमा बाल श्रम उन्मुलनका अभियानहरु सञ्चालनमा आएका थिए। सन् २००० देखि २०१६ सम्ममा यस्ता अभियानबाट बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आए पनि अब भने यो अवस्था उल्टिने खतरा आइएलओ र युनिसेफले चेतवानी दिएको छ । अहिले विश्वभर बाल श्रमिकको संख्या १६ करोड पुगेको छ ।
सबैभन्दा धेरै ५ देखि ११ वर्ष उमेर समूहका
हाल विश्वभरि रहेका बाल श्रमिकमध्ये ५ देखि ११ वर्ष बीचको उमेर समूहका धेरै छन् । प्रतिवेदनमा उल्लेख गरिएअनुसार ५ देखि १७ वर्ष उमेर समुहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्धि भई ७ करोड ९० लाख पुगेको छ । बाल श्रमको विरुद्धमा कार्य गर्नको लागि सरकार, सामाजिक साझेदारहरू तथा नागरिक समाजको प्रतिवद्धता व्यक्त गर्ने क्रम बढे पनि बाल श्रमिकको संख्या अझै पनि विकराल रहेको नेपाल स्थित अन्तर्राष्ट्रिय श्रम संगठनको देशीय कार्यालयका निर्देशक रिचर्ड हावर्डले बताए । ’वर्तमान बालश्रमको अवस्थाले हरेक बालबालिकाको अधिकारको उल्लङ्घन भएको दर्शाउनुका साथै गरिबी बढाउँछ र आर्थिक वृद्वि एवं समतामुलक विकासलाई सीमित तुल्याईदिन्छ । बाल श्रमसँग सम्बन्धित जोखिम सम्बोधन गर्नको लागि गरिबी तथा बहिष्करणको जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा र मर्यादित कामको अवसर एकतावद्व रुपमा प्रदान गर्दै आवश्यक कार्यक्रमहरू सन्चालन गर्नु अहिलेको समयको मुख्य आवश्यकता रहेको छ,’ निर्देशक हवार्डले भनेका छन् ।
महामारीको असर स्वरूप २०२२ को अन्त्यसम्ममा थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको प्रतिवेदनमा औंल्याईएको छ । सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने पूर्वानुमान गरिएको छ । २०१६ देखि नै अगाडि बढेका एसिया तथा एसिया प्रशान्त क्षेत्र एवं दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रमा केहि प्रगति हासिल भईरहेकोमा कोभिड–१९ ले त्यसलाई खतरामा पारेको छ ।
नेपालको अभियान अवरुद्ध हुनसक्छ
प्रतिवेदनले नेपालमा बाल श्रम उन्मुलन तर्फ भइरहेको प्रगति पनि वर्तमान महामारीको अवस्थाले गर्दा अवरुद्ध हुनसक्नेतर्फ सचेत गराइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाखबाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको उल्लेख गरेको छ । खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै उल्लेख्य मात्रामा कमी आएको थियो । तर यी उपलब्धिहरू अहिलेको कोभिड–१९ महामारीका कारण सिर्जना भएका चुनौतीका कारण जोखिममा रहेको आइएलओ र युनिसेफले जनाएको हो । बाल श्रमिकको रूपमा कार्यरत बालबालिकामा शारीरिक र मानसिक हानी पुग्ने जोखिम रहनुका साथै बाल श्रममा लागेको कारण उनीहरूलाई शिक्षाको अवसर एवं अधिकारहरूबाट वन्चित गरी भविष्यमा आउने अवसरलाई सीमित गरिदिन्छ, र पुस्तैनी गरिबी तथा बाल श्रमको खतरनाक चक्रमा धकेल्छ ।
नेपालमा बाल श्रमिकको अवस्था
हाम्रो देशका विभिन्न सहरहरूमा १८ वर्षमुनीका कुल ५५ हजार ६५५ घरेलु बालश्रमिक रहेका त्यसमध्ये ४२ हजार ६७४ घरेलु बालश्रमिक १४ वर्षभन्दा कम उमेरका रहेको अनुमान गरिन्छ। काठमाण्डौं शहरमा मात्रै २१ हजार भन्दा बढी घरेलु बालश्रमिक रहेका छन्। घरेलु बालश्रमिकहरु दिनको १३ देखि १५ घण्टासम्म काम गर्दछन्। घरेलु बालश्रमिकमध्ये करिब आधा बिनापारिश्रमिक काम गरिरहेका छन्। कतिपय बालश्रमिकहरुलाई आफूले काम गरेबापत पारिश्रमिक पाउनुपर्छ भन्ने पनि थाहा छैन। पारिश्रमिक पाइरहेकामध्ये ९७ प्रतिशतले महिनाको एक हजार रुपियाँभन्दा पनि कम तलब पाउने गरेका छन्। अधिकांश घरेलु बाल श्रमिकहरुलाई विद्यालय जान दिइदैंन। उनीहरुलाई घरबाट बाहिर अरु साथीभाइहरुलाई भेट्न र उनीहरुसँग खेल्न पनि दिइदैंन। धेरै घरेलु बाल श्रमिकहरु काम गर्ने घरमा कुटपिट, हिंसा, दुव्र्यवहार कतीपय त यौन दुव्र्यवहारको पनि शिकार भएका छन्। नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ।
प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ। धारा ३९ः२ कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन र कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन। प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ। धारा ३९ः७ बालश्रम नियमित र निषेधित गर्ने ऐन २०५६ मा पनि यस्तो प्रावधान राखिएका छन्।
१४ वर्ष मुनिका बालबालिकाहरुलाई कुनै पनि किसिमको श्रममा संलग्न गराउन पाईदैन।
बालबालिकालाई रातमा साँझ ६ वजेदेखि बिहान ६ बजेसम्म काममा लगाउनु हुदैन।
लगातार ३ घण्टा काम गरेपछि आधा घण्टा विश्राम र हप्ताको १ दिन विदा दिनुपर्छ।
यदि यसको पालना नगरी काम लगाएमा रु ५ हजार सम्म जरिवाना वा २ महिनासम्म कैद वा दुवै सजाय हुनेछ। इच्छाविपरित काममा लगाएमा १ वर्षसम्म कैद वा रु ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने सहितका विभिन्न प्रावधान राखेको छ । नेपालले रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेरसम्वन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १३८ सन् १९७३ को माहासन्धिलाई सन् १९९७ मा अनुमोदन गरीसकेको छ। र निकृष्ट अवस्थाको बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १८२ जुन १, सन् १९९९ पनि सन् २००० को जनवरीमा अनुमोदन गरिसकेको छ। यो महासन्धिले पनि १८ वर्षमुनिका सबै बालबालिकालाई जोखिमयुक्त श्रममा लगाउन निषेध गरेको छ। तर विभिन्न कारणहरुबाट यसलाई कडाईका साथ पालना भएको देखिदैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस