• जीवनशैली | Jiwanshaili
  • नेपाललाई तत्काल खोप सहयोग गर्न विश्व समुदायसँग एमनेस्टीको अपिल


    काठमाडौं । अन्तर्राष्ट्रय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नेपाललाई कोरोना विरुद्ध लड्न थप खोप आवश्यक परिरहेकाले तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ।

    एम्नेस्टीले सोमबार विज्ञप्ति प्रकाशित गरी खोपमा समतामूलक पहुँच सुनिश्चित गर्न र स्थानीय रूपमा खोप उत्पादनका लागि स्रोतसाधन र प्रविधि स्थानान्तरणलाई प्राथमिकीकरण गर्न कोभ्याक्सजस्तो विश्वव्यापी संयन्त्रलाई सहयोग गर्न अपिल गरेको छ। गत पाँच महिनामा दुईपटकसम्म देशको संसद विघटन गर्नेगरी नेपालका नेताहरू आन्तरिक कलहमा सामेल भइरहेको बेला कोभिड–१९ भने व्यापक फैलिएको एम्नेस्टीको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विश्वकै सबैभन्दा उच्च संक्रमण दर छ र गत अप्रिलमा नेपालको स्वास्थ्य मन्त्रालयले जुलाईसम्ममा थप तीन लाख सङ्क्रमित थपिने प्रक्षेपण गरेको थियो।’

    ‘अस्पतालहरूमा क्षमताभन्दा बढी बिरामीको चापका कारण देशको स्वास्थ्य सेवाप्रणाली लड्खडाइरहेको र अत्यधिक कामको बोझमा रहेका र निराश लाग्दो तहको न्यून स्रोतसाधनमा रहेर खटिरहेका स्वास्थ्य कर्मचारीले आफ्ना माग पूरा गर्न सकिरहेका छैनन्।’ अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्वास्थ्य संरचना अहिलकै संक्रमण भारले कमजोर बन्न पुगेको विज्ञप्तिमा जनाइएको छ।

    संयुक्त राष्ट्रसङ्घले वैशाख ३१ गते जारी गरेको प्रतिवेदनअनुसार विश्वका अन्य देशमा भन्दा नेपालमा भाइरसको सबैभन्दा उच्च ‘प्रभावकारी प्रजनन दर’ र सबैभन्दा उच्च संक्रमण दर थियो। एम्नेस्टी इन्टरनेसनलकी एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले भनिन्, ‘हालको संकट उत्परिवर्तित भाइरसको कारण थप गम्भीर हुन पुगेको छ जसले मृत्यु दरलाई उच्च स्तरमा पुर्‍याउने तथा निमोनिया जस्ता थप जटिलताहरू पैदा गराउने गरेको छ जसका कारण अक्सिजनको मागमा वृद्धि भइरहेको छ।’

    अन्तर्राष्ट्रिय समुदायले आफ्नो तर्फबाट अक्सिजन, भेन्टिलेटर, खोप र अन्य जीवन बचाउने वस्तुहरूको आपूर्ति तत्कालै उपलब्ध गराउनुपर्दछ।’ स्वास्थ्य प्रणालीको बोझ कम गर्न र भाइरसको संक्रमण नियन्त्रण गर्न नेपालमा भएका प्रयासलाई कोभिड–१९ विरुद्धको खोपको अभावले गम्भीर रूपमा अवरोध पुर्‍याएको उनको भनाइ छ। कोभिड–१९ द्रूत गतिमा नेपालभर फैलिएको छ र अहिले सातवटै प्रदेशमा व्यापक हुन पुगेको विज्ञप्तिमा उल्लेख छ। एम्नेस्टीका अनुसार २४ जेठसम्ममा कोभिड–१९ का कारण ७,९९० जनाको मृत्यु भएको अभिलेख गरिएको थियो। इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले भदौ १६ गतेसम्ममा मृत्यु हुनेको संख्या ३४,८८७ पुग्ने प्रक्षेपण गरेको छ।

    २०७८ वैशाख २७ गतेसम्ममा नेपालको तीन करोड जनसंख्यामा २५ लाख भन्दा कमले त्यो पनि एक डोज मात्र खोप लगाएका छन्। यो १० जनामा एक जनाभन्दा कम हो। कम र मध्यम आय भएका देशलाई खोपको पहुँचमा सहयोग गर्नका लागि अघि बढाइएको एउटा वैश्विक पहलको रूपमा रहेको कोभ्याक्सले आफ्नो प्रतिबद्धता पुरा गर्न नसकेको र धनी राष्ट्रहरूले आवश्यकताभन्दा धेरै खोप सञ्चय गरिरहेको एम्नेस्टीको विज्ञप्तिमा उल्लेख छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस