नारायणीले पार गर्यो खतराको विन्दु
चितवन / नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो ।
निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३० बजे ९।८७ मिटर पुगेको छ । केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ । गत वर्ष साउन ६ गते बिहान नारायणीको सतह ९.९१ मिटर पुगेको थियो, जुन ४४ वर्ष यताकै बढी हो ।
नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा पानीको वहाव बढेका समयमा दाउरा टिप्न र माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ । यस्तै औषधि, खाद्यान्न र महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ ।
नारायणीका कारण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ छिर्न शुरु गरेको छ ।
नदीमा पानीको वहाव बढेसँगै आज साँझ प्रभावित क्षेत्रमा महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र सुरक्षा निकायका प्रमुखले अनुगमन गर्नुभएको छ । नदी बस्तीमा पस्न सक्ने क्षेत्रको अध्ययनसमेत गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस