• जीवनशैली | Jiwanshaili
  • जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु


    बर्दिया । जंगली हात्तीको आक्रमणबाट बर्दियामा ७८ वर्षीय वृद्धको मृत्यु भएको छ।

    बाँसगढीका ७८ वर्षीय नरेशवर सापकोटाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीम कुमार थापाले जानकारी दिए । बुधबार दिउँसो च्याउ खोज्न जंगलतिर गएका २ जनामध्ये १ जनालाई जंगली हात्तीले आक्रमण गरी ज्यान लिएको हो। बर्दियाको बाँसगढीको पौरखी मध्यवर्ती सामुदायिक वनभित्र हात्तीको आक्रमणबाट मृत्यु भएको निकुञ्जले जनाएको छ।

    यसअघि जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिकामा आमा छोरीको ज्यान गएको थियो। बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा मृत्यु भएको थियो ।

    पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ। निकुञ्ज प्रशासनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटक पटक आग्रह गर्दै आएको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस