कोरोना विरुद्धको दोस्रो खोप नपाएका नेपालका १४ लाख नागरिक जोखिममा : एम्नेस्टी
काठमाडौं । कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप नपाएका नेपालका १४ लाख नागरिक जोखिममा परेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।
पहिलो डोज खोप लगाएका तर दोस्रो डोज लगाउन नपाएका १४ लाख नागरिकको जीवन जोखिममा परेको एम्नेष्टीले जनाएको हो। शुक्रबार सार्वजनिक अपिल जारी गर्दै एम्नेस्टीको नेपाल कार्यालयले दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको हो।
एम्नेस्टीले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराएर खतरामा परेका नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न पनि धनी र खोप भण्डार गरी राखेका देशहरूसँग आग्रह गरेको छ। अपिलमा भनिएको छ,‘विशेषगरी बेलायत जस्ता ठूलो मात्रामा खोप भण्डारण गरेका धनी देशसहित अन्तर्राष्ट्रिय समुदायले तत्काल नेपाललाई पर्याप्त खोप दिए १४ लाख नागरिकलाई खतरामुक्त गर्न सकिन्छ।’
सरकारले ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई गत वर्ष फागुन अन्तिम र चैत पहिलो साता भारतीय कम्पनी सेरमले उपलब्ध गराएको कोभिसिल्ड भ्याक्सिन लगाइदिएको थियो। नियमानुसार उनीहरूले दोस्रो डोज १२ हप्ताभित्रमा लगाइसक्नुपर्ने थियो। तर तत्काल खोप ल्याउन नसकिएको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ अन्तमा पहिलो डोज लगाएको १६ साताभित्र दोस्रो डोज लगाउन सकिने सूचना जारी गरेको छ ।
पहिलो डोज लगाइएको १६ साता बित्न अब बढीमा १० दिन मात्र बाँकी भएको तर खोप ल्याउने र ज्येष्ठ नागरिकहरूलाई लगाइदिन विषयमा सरकारले चासो नदेखाएपछि एम्नेस्टीले १४ लाख मानिसमा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको हो। सरकारले भने १० लाख डोज कोभिसिल्ड खोप किन्नका भारतीय कम्पनी सेरमलाई रकम भुक्तानी गरिएपनि उसले खोप नदिएको दाबी गर्दै आएको छ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस