• जीवनशैली | Jiwanshaili
  • कोरोना खोपको दुबै डोज लिएकामा जटिल समस्या देखिँदै


    कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन । दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन ।

    त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर (लिम्फोमा) का बिरामी थिए । ‘पहिलेदेखि नै कोमर्बिडिटीका कारण रोग प्रतिरोधक क्षमता कम भएकाले खोप लगाए पनि प्रभावकारी नहुने सम्भावना हुन्छ,’ डा. दासले भने, ‘उहाँको बढी उमेर, रक्त क्यान्सर जस्तो कोमर्बिडिटी भएकाले खोप लगाउँदासमेत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएर एन्टिबडी नबनेको वा धेरै कम बनेको हुन सक्छ ।’

    शिक्षण अस्पतालमा महामारीको पहिलो लहरमा १ सय ६० र दोस्रो लहरमा करिब ३ सय जनाको संक्रमणले मृत्यु भएको तथ्यांक छ । शिक्षण अस्पतालमा एक मात्रा खोप लगाएका २१ जना र दुई मात्रा खोप लगाएका एक जनाको मृत्यु भएको थियो । ‘मृत्यु भएकामध्ये एक मात्रा खोप लिएकाहरूको विस्तृत अध्ययनको खाँचो छ,’ शिक्षण अस्पतालका अर्का चिकित्सकले भने, ‘एक मात्रा खोप लिएर पनि मृत्यु भएकामध्ये धेरैजसोलाई खोप लिनुअघि, खोप लिन लाइनमा बस्दा वा खोप लिएलगत्तै संक्रमण भएको हुन सक्छ ।’

    कान्तिपुर दैनिकबाट


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस