• जीवनशैली | Jiwanshaili
  • पानीमा डुब्दा पनि नबिग्रिने मोटोरोलाको स्मार्टफोन सार्वजनिक


    एजेन्सी । अमेरिकी स्मार्टफोन कम्पनी मोटोरोलाले हालै नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ, जुन अन्य सामान्य स्मार्टफोनभन्दा फरक र बलियो रहेको मानिन्छ।

    ‘मोटोरोला डेफे’ नामक नयाँ फोन मिलिट्री स्ट्याण्डर्ड सर्टिफाइड छ, अर्थात् यो फोन जस्तोसुकै अवस्थामा पनि चाडैँ फुट्ने वा बिग्रिने हुँदैन। यो फोनले आईपी ६८ रेटिङ प्राप्त गरेको छ। ६.५ इन्च एचडी प्लस डिस्प्ले भएको ‘मोटोरोला डेफे’मा कर्निङ गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ, जसले गर्दा फोनको सिसा भुईमा खस्दा फुट्दैन।

    यसको पछाडीपट्टि तीनवटा क्यामरा छ, ४८ मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको डेप्थ सेन्सर र २ मेगापिक्सलको म्याक्रो क्यामरा। अगाडिपट्टि भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। पाँच हजार ब्याट्री पावर भएको ‘मोटोरोला डेफे’ एकपटक पुरा चार्ज गरेपछि दुई दिनसम्म टिक्ने ग्याजेट ३६० ले बताएको छ।

    अर्को खास विशेषता यसलाई पाँच फिट गहिरो पानीमा ३५ मिनेटसम्म डुब्दा पनि बिग्रिदैन। यो डुअल सिल्ड हाउजिङको साथ बनेको हुनाले पानी, बालुवा, धुलो र नुनले समेत कुनै असर पार्दैन। ग्याजेट ३६० का अनुसार यो फोनको भाइब्रेसन र ड्रप टेस्ट समेत गरिएको थियो। त्यसैले यसलाई ६ फिट उचाईबाट खसाल्दा पनि केही असर नहुने कम्पनीले दाबी गरेको छ।

    यदि यो फोन फोहोर भएमा यसलाई साबुनले धुन वा पखाल्न पनि मिल्ने ग्याजेट ३६० ले उल्लेख गरेको छ। क्वालकम स्न्यापड्रागन ६६२ प्रोसेसर रहेको ‘मोटोरोला डेफे’मा ४ जिबीको र्याम र ६४ जिबीको इन्टरनल स्टोरेज छ। यसको मूल्य ३२९ युरो रहेको ग्याजेट ३६० ले लेखेको छ ।

     


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस