• जीवनशैली | Jiwanshaili
  • रोकिएका सबै परीक्षा साउनदेखि भौतिक उपस्थितिमै गर्ने त्रिविको तयारी


    काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी थालेको छ।

    संक्रमण जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताए । दाहालका अनुसार वैकल्पिक विधिबाट भने परीक्षा सञ्चालन गरिने छैन। उनका अनुसार परीक्षाको समय तालिकाबारे अहिले त्रिविले तयारी गरिरहेको छ। स्वास्थ्य सुरक्षाको पूर्ण मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने छ। ‘परीक्षा सञ्चालन गर्दा हामी स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने छौँ,’ उनले भने, ‘परीक्षार्थीहरूलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्रहरु तोकिने छ।’

    साउनदेखि परीक्षा सञ्चालन गरी सोही महिनाभित्रै सबै परीक्षा सकाउने त्रिविको योजना रहेको उनले बताए। त्रिविले दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि त्रिविले सञ्चालन भइरहेका परीक्षा वैशाख १४ देखि वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको थियो। त्यसै बेला स्नातक तह दोस्रो वर्षको मानविकी, व्यवस्थापनलगायत संकायको परीक्षा सञ्चालन हुँदै थियो। त्रिविका अनुसार परीक्षा हुँदै गर्दा रोकिएका तह र स्नातक प्रथम वर्षको मानविकी, शिक्षा, व्यवस्थापनलगायत संकायको वार्षिक परीक्षा सञ्चालन हुन बाँकी छ।

    लकडाउनअघि सञ्चालन भइसकेको परीक्षाको नतिजा भने यही महिनाभित्रमा प्रकाशित गर्ने रजिष्ट्रार दाहालले बताए। उनका अनुसार पहिला चौथो वर्षको रोकिएको नतिजा एक साताभित्रमा प्रकाशित गरिनेछ। त्यसपछि क्रमश स्नातक तहको व्यवस्थापन, मानविकीलगायत संकायको नतिजा प्रकाशित गरिने तयारी भइरहेको उनको भनाइ छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस