आज विश्व योग दिवस: यस्ता छन् योग गर्नुका फाइदा
काठमाडौं । आज विश्व योग दिवस मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि मनाइँदैछ ।
जुन २१ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।
संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले आज भर्चुअल माध्यमबाट विविध कार्यक्रम आयोजना गर्ने भएका छन् । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले सार्वजनिक कार्यक्रमभन्दा पनि प्रविधिलाई उपयोग गरी जुम प्रविधिका माध्यमबाट कार्यक्रम गरिने जनाइएको छ । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन्।
योग के हो ?
सजिलो भाषामा भन्दा योग भनेको मनलाई शरीरसँग जोड्नु हो । मनलाई आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो।
योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ। युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो। यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो। विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो। हामी सबै मनुष्यभित्र आत्मा छ। त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो। शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन्। चिन्ता, मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेका छन्। योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोगब्याधिबाट त बच्न सकिने भयो।
योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण छ, योगको आध्यात्मिक पक्ष। प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रह्माण्डको समग्रता बुझ्नु र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय हो। हिन्दू धर्मग्रन्थमा योग तथा साधनाका अध्यायहरू प्रस्तुत गरिएका छन्। हिमालय र त्यस भेगसँग जोडिएका क्षेत्रमा योगको प्रादुर्भाव भएको हो।
योग कति प्रकारका छन् ?
शारीरिक अभ्यासहरूमा हठयोग र अष्टागयोग धेरै प्रचलित छ । जसमा आसन र प्राणायामहरूको धेरै व्याख्या गरिएको छ ।
जसले शरिर र मनलाई शुद्ध बनाएर ध्यानतिर लैजाने काम गर्छ । श्रीमद्भागवत गीतामा भने १८ प्रकारको योगको व्याख्या गरिएको छल । गीतामा १८ मध्ये प्रत्येक अध्याय एक–एक योगको नाममा समर्पण गरिएको छ । त्यसैले १८ वटा योग गीताले मात्र उल्लेख गरेको छ । अहिले हजारौं उपनिषद् छ भन्ने गरिन्छ । २१८ वटा उपनिषदमात्र लिखित प्रमाणमा छन्। ३२ वटा उपनिषदले योगबारे व्याख्या गरेका छन् । त्यसैले सामान्य मानिसले चिन्ने भनेको अष्टाङ्ग योग, ज्ञान योग,कर्म योग, भक्ति योग, सन्यास योग, कुण्डलिनी योग, कर्मसन्यास योग लागायतका योग छन् । तर हाम्रो समाजमा अहिले मानिसले चिन्ने योग भनेको आसन योग हो । तर यो वास्तवमा योग होइन ।
अष्टांग योगमा आठ वटा अंग हुन्छन् । सामाजिक अनुशासन नियम व्यक्तिगत अनुसशासन आशन शारीरिक अनुशासन प्राणायम प्राण शक्तिलाई नियन्त्रण गर्नु अर्को हो। प्रत्याहार जसले हाम्रो शरीरमा रहेका ज्ञानेन्द्रीयहरूलाई बाहिर जानबाट रोक्छ। जसले हाम्रो मनलाई भित्रै राख्न सकोस्। अर्को हो धारणा, ध्यान र समाधि यो अष्टांग योग हो। आधुनिक समाजमा चलेको योग भनेको बिहान बेलुका घर वा योगशालामा गएर गरिने आसन नै योग हो ।
यस्ता छन् योगका फाइदा
योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ । तर सही तरिकाले नगरिए फाइदाभन्दा बेफाइदा बढी गर्छ ।
उपयुक्त तरिकाले योग गरे सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ। प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ।
यसका साथै ध्यान पनि योगको महत्वपूर्ण अंग भएकाले ध्यानले एकाग्रता बढाउँछ। तनाव कम गराउँछ। नियमित योगाभ्यासले शरीरमा चिनी र कोलस्ट्रोलको मात्रा घटाउँछ। नियमित गर्न सके योगका आसन र ध्यानले बाथरोग, पछाडि दुख्ने (ब्याक पेन)को समस्या कम गर्छ। महिलाहरूमा महिनावारीका बेला देखिने समस्या तथा गर्भवतीहरूले योग गर्दा पेटभित्रको बच्चालाई समेत फाइदा हुन्छ। तीन चार वर्षदेखि नै बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुने र शरीर पनि स्वस्थ हुन्छ।
क्याटेगोरी : चाडपर्व विशेष, समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस