शिवसताक्षी नगरपालिका—६ मा पशु बीमा कार्यक्रम प्रभावकारी
झापा / शिवसताक्षी नगरपालिका–६ ले १६० किसानको निःशुल्क पशु बीमा गरिदिएको छ ।
पशुपालनबाट किसानको आयआर्जनमा वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले वडामा निःशुल्क पशु बीमा अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रमअन्तर्गत किसानले पालेको गाई, भैसी, बाख्रा, बङ्गुरलगायतको निःशुल्क बीमा गरिएको र सो बापत बीमा कम्पनीलाई बुझाउनुपर्ने सम्पूर्ण शुल्क वडा कार्यालयले नै भुक्तानी दिइने गरेको छ ।
वडाको अधिकांश किसानको घरमा उन्नत जातका गाई छन् । चन्द्रडाँगी बीउविजन केन्द्रमा केही वर्ष पहिले नश्ल सुधारका लागि राखिएको बीउ साढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उनले बताए । कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले शुरुमा किसानले नबुझेर बीमा गर्न नमाने पनि अहिले आफैं फोन गरेर बोलाउने गरेको बताए । उनका अनुसार बजारमा ९५ हजारसम्म मूल्यपर्ने गाईको रु।७५ हजारसम्मको बीमा गर्ने गरिएको छ । “पशु बीमाले किसानलाई सहयोग पुगेको छ”, स्थानीयवासी शर्मिला विकले भने “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई मद्दत पुग्छ ।”
वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको छ । आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने वडाध्यक्ष कार्कीको भनाइ छ । बीमा कम्पनीका अभियकर्तालाई लिएर वडाध्यक्ष आफैंले पशु बीमा गराउनका लागि किसानको गोठगोठमा पुग्ने गरेका छन् । बीमाबापत एक वर्षभित्र पशु दुर्घटना वा रोग लागेर मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिनेछ । पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न र नश्ल सुधार तथा वडालाई दुध, दही, घ्यूमा आत्मनिर्भर बनाउनका लागि पशु बीमा कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए।
बीमा कम्पनीले बीमा गरेको पशुको कानमा सिरियल नम्बरसहितको ट्याग लगाइदिन्छ । बीमाको दाबी भुक्तानी माग गर्ने किसानले पशु मरेको तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानूनी व्यवस्था छ । मरेको पशु गाडेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिस पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस