बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ ।
नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए। उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे।
उनले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिए। उनले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउन सकिने धारणा राखे । यस्तै उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने रु ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरे।
यस्तै उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष आइसियु, १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट एचडियु, २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरेका छन् । पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताए। उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए। उनले पहिलो र दोस्रो लहरको कोभिड–१९ को नियन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको बताए।
मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा. रोशन पोखरेललगायतले लक्षित जनसङ्ख्यालाई खोप नै उपलब्ध गराउन सकेमात्र सङ्क्रमण कम गर्न सकिने धारणा राखेका थिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस