यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच भीडन्त, १११ जनाको मृत्यु
एजेन्सी । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भीडन्तहरूमा परेर १११ जनाको मृत्यु भएको छ।
यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही सुरू गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ। हुथी विद्रोहीहरूले मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्। यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र स्थान हो।
बिहीबार र आइतबार भएका भिषण लडाईंमा सरकार समर्थित २९ जना सैनिकको ज्यान गएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारी सूत्रले जनाएको छ। तर विद्रोही हुथी समूहले आफ्ना लडाकूको ज्यान गएको बारेमा केही बताएको छैन। यमनका सरकारी अधिकारीको भनाइमा बिहीबारदेखि हुथी विद्रोहीले उत्तर, दक्षिण र पश्चिमतर्फबाट मरिबमा भीषण आक्रमण गरिरहेका छन्।
लडाकुहरू मरिबको भित्री तहमा प्रवेश गर्न पाएका छैनन्। मरिबलाई विद्रोहीको कब्जामा पुग्न नदिन सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ। यमनको मरिब क्षेत्र तेलका लागि धनी छ। यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हात माथि पर्नेछ। तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय संकट उत्पन्न हुन सक्ने स्थानीय मानवीय संघसंस्थाले बताएका छन्।
यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ। यमनका मुख्य विद्रोही समूह हुथीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा राखेका छन्। संयुक्तराष्ट्र संघ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि हुथी विद्रोहीहरूले कुनै किसिमको युद्धविराम वा मध्यस्थता हुनुअघि सानास्थित विमानस्थल खुलाउन माग गरिरहेका छन्। यो विमानस्थल सन् २०१६ देखि साउदी प्रतिबन्धका कारण बन्द छ। मरिबमा रक्तपातपूर्ण स्थिति देखिए पनि हुथी विद्रोहीहरूले साउदी अरेबियाका कैयौं स्थानमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण जारी राखेका छन्।
यसै महिना यमनका लागि राष्ट्रसंघीय विशेष दूत मार्टिन ग्रिफिथले युद्ध अन्त्य गराउन तीन वर्षदेखि आफूले गरेको प्रयास त्यतिकै खेर गएको बताएका छन्। यमन गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ। राष्ट्रसंघले यस युद्धलाई सर्वाधिक खराब मानवीय संकटको संज्ञा दिएको छ। युद्धका कारण दशौं लाख व्यक्ति विस्थापित भएका छन्।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस