हुनै छाड्यो ३४ प्रयोगशालामा कोरोना परीक्षण
काठमाडौं । देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ ।
जसमध्ये पछिल्लो २४ घण्टामा ३४ प्रयोगशालाबाट एक जनाको पनि कोरोना परीक्षण नभएको देखिएको छ । यसरी हेर्दा केही दिनयता कोरोना परीक्षण निकै घटेको पाइएको छ ।
पछिल्लो २४ घण्टामा कोसी अस्पताल विराटनगर, न्युरो कोभिड अस्पताल विराटनगर, धनकुटा अस्पताल, नारायणी अस्पताल वीरगन्ज, जलेश्वर अस्पताल, सिराहा अस्पताल, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण नै नभएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ ।
यस्तै, वीरेन्द्र अस्पताल छाउनी, केएमसी अस्पताल काठमाडौं, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौं, हेटौंडा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल नेपालगन्जमा पनि पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेन ।
यस्तै, डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालगायत प्रयोगशालामा परीक्षण संख्या शून्य रहेको छ ।
गत सोमबारदेखि हिजो आइतबारसम्मलाई आधार मान्दा दैनिक ७ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण भएको पाइएको छ । सो अवधिमा ५३ हजार ७ सय ७३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । जसमा १२ हजार ६ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि जेठ तेस्रो साता दैनिक ११ हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।
आइतबार ६ हजार जनाको पीसीआर र ३ हजार ८ सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट १ हजार ३ सय ५३ र एन्टिजेन विधिबाट ५ सय ६७ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले परीक्षण गराउन आउनेको संख्या घटेको बताए । परीक्षण गराउन आउनेको संख्या घट्दा संक्रमितको संख्या पनि घटेको देखिएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए ।राजधानीबाट
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस