कोशी राजमार्ग, माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।
एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उक्त सडकखण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको छ । श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन् ।
यस्तै, पहिराले खाँदबारी किमाथाङ्का सडकअन्तर्गत मकालु गाउँपालिकाको दोभान खण्डमा पनि पहिराले सडक अवरुद्ध पारेको छ । दोभानबाट हेदांनातर्फ जाने सडकमा पहिरो खसेको हो ।
उता सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिराबाट एक घर पुरिएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिराले घरमा क्षति पुग्नाका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए ।
आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले उक्त घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पहिराबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताए । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस