बसपार्क बन्द हुँदा यात्रु समस्यामा
काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई फन्को मार्दासमेत बस भेट्टाउन सकेनन् । दुई महिनापछि असार १५ गतदेखि जोर बिजोर प्रणालीबाट काठमाडौँ उपत्यकामा सवारी चल्न थालेको थियो । असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्न पाउने गरी खुला गरिए पनि बस खोज्न कहाँ जाने भनी अलमलमा पर्नु परेको भैँसीपाटी जाने सवारी कुर्नुभएकी रीता मगरले सुनाए ।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला करीब एक महिनाअघि खुलामञ्चको उत्तरी कुनामा निर्माण गरिएको बसपार्क खाली गरिएको थियो । खुलामञ्चमा बसपार्क बनाएर सम्पदा मास्न खोजेको भन्दै सम्पदा बचाउ अभियानलगायतले विरोध गर्दै आएका थिए । खुलामञ्चको बसपार्क खाली गरिएपछि हाल तालाबन्दी गरी राखिएको छ । बसपार्क बन्द गरेको सूचना नपाएका यात्रु त्यहाँ पुगेर तालाबन्दी गरिएको बसपार्क हेरेर सवारी खोज्दै भौँतारिने गरेका छन् ।
काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित पुरानो बसपार्क पाँच वर्षअघि भ्यूटावर बनाउन खाली गरिएपछि खुलामञ्चमा बस पार्किङ गरिँदै आएको थियो । भ्यू टावर निर्माण सम्पन्न भएपछि त्यसको भूइँ तलामा बसपार्क राख्ने सम्झौता महानगरपालिकाले गरेको छ । वडा नं २८ का अध्यक्ष भाइराम खड्गी बसपार्क हटाएपछि बस चढ्न कहाँ जाने भनी धेरै यात्रु वडा कार्यालयमै गुनासो गर्न आउन थालेको बताए ।
छिटो बसपार्कको व्यवस्था मिलाउन महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई अनुरोध गरिएको उनले बताए । महानगरको वातावरण विभागलाई पनि समस्या समाधानको पहल गर्न पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ । बसपार्क नभएपछि हाल काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका विभिन्न स्थानमा चल्ने सार्वजनिक यातायात टुँडिखेल घुमेर पुरानै मार्गबाट गन्तव्यमा जाने गरेका छन् ।
पुरानो बसपार्कबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न स्थानमा समेत सवारी आवतजावत हुँदै आएको थियो । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बसपार्क नभएका कारण सवारी नपाइएका सम्बन्धमा गुनासो भए यात्रुले १०३ नम्बरमा फोन गरेर जानकारी गराउन सक्ने बताए ।
यसरी गुनासो गरेपछि कहाँको सवारी कहाँ पाइन्छ भनी यात्रुलाई सहजीकरण गरिने गरिएको उनले सुनाए। मङ्गलबारदेखि यातायातमा कायम जोर बिजोर प्रणाली हटाइए पनि अझै अपेक्षाकृत सवारीसाधन सडकमा ननिस्किएको महाशाखाले जनाएको छ । महाशाखाले गएको २४ घण्टामा सडक नियम पालना नगर्ने एक हजार ८१६ सवारीलाई कारवाही गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस