नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । माडी क्षेत्रको वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका– २९ लगायतका पहाडी भूभागमा भूक्षय र पहिराकोसमेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्वारा जारी सूचनामा जनाइएको छ । वाढी आएको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने जस्ता जोखिमयुक्त कार्य नगर्न नगराउन सबैमा अनुरोध गरिएको छ । सूचनामा भनिएको छ “जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिनसम्म विभिन्न स्थानमा मेघगर्जनसहित निरन्तर वर्षाको सम्भावना रहेकाले नदीमा पानीको सतह खतरा तहसम्म पुग्न गई बाढी, नदी कटान डुवानको उच्च जोखिम रहेको छ ।” नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित स्थानमा रहन वा जानसमेत प्रशासनले सम्बन्धित सबैमा अपिल गरेको छ ।
यसैबीच निरन्तरताको वर्षाका कारण माडीका १६८ घर डुवानमा परेका छन् । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार माडी नगरपालिका–१, ३, ४, ६ र ७ का ती घर डुवानमा परेका हुन । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका–१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नं ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ । अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ ।
निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी भरतपुर सवारी आवागमन रोकिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस