• जीवनशैली | Jiwanshaili
  • सामाजिक सञ्जाल र बालबालिका


    काठमाडौं । बालबालिकाको बालककालमा हुने विकासले उनीहरूको सिंगो जीवनमा प्रत्यक्ष प्रभाव पार्दछ ।

    शारीरिक र मानसिक रूपमा स्वस्थ बालबालिकाहरू नै पछि गएर राम्रो मान्छे बन्छन्। असल मान्छे बन्छन्। निश्चित समयसम्म स्तनपान, पोषिलो खानेकुरा खान पाउनु, परिवारको काख र मायाममतामा रम्न पाउनु हरेक बालबालिकाहरूको नैसर्गिक अधिकार हो । हामीले हाम्रा साना बालबालिकालाई यी सवै कुरा र चाहिने जति समय दिएका छौं त ? एकपटक गहिरिएर सोच्नु जरुरी छ ।

    आजभोलि सूचना र प्रविधिमा आएको विकासले गर्दा धेरै मानिस सामाजिक सञ्जालमा व्यस्त हुन थालेका छन्। फेसबुक, ट्विटर, भाइबर, टिकटक, ह्वाट्स एप,स्नाप च्याट, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल अथवा सोसल मिडियासँग परिचित छौं । सोसल मिडिया आफंैमा नराम्रो त पक्कै होइन । हामीले यसलाई प्रयोग गर्ने तरिका र बानीमा भने निकै ध्यान दिनुपर्छ। कर्तव्य, अधिकार र दायित्व सबै बिर्सेर सोसल मिडियामा मात्रै समय खर्च गर्न थाल्यौं भने यसले विकास होइन विनास निम्त्याउँछ ।

    बालबालिका सृष्टिका सुन्दर उपहार हुन्। भू्रण अवस्थाबाटै उनीहरूको विकास सुरु हुन्छ। आमाको गर्भाशयमा बस्ने नौ महिनाको समयमा आमाले पोसिलो खानेकुरा खाने, निश्चित योग, अभ्यास र साधना गर्नुपर्ने हुन्छ । आजभोलिको व्यस्त दुनियाँ र सोसल मिडियाको चाहिनेभन्दा बढी प्रयोगले भू्रण अवस्थाबाटै बच्चाले आमाबुबाबाट जति हेरविचार पाउनुपर्ने हो त्यो पाउन सकेका छैनन् ।

    हरेक बच्चाका आमाबुबाहरू दिउँसोको समय त आफ्नो जीवनयापनका लागि आवद्ध पेशामा काम गर्छन् । यसलाई अन्यथा मान्नुभएन । बाँकी रहेको साँझबिहानको समयमा पनि महिलाहरू धेरै समय घरभित्रको काममा नै व्यस्त हुन्छन् भने पुरुष महिलालाई काममा सघाउनुको सट्टा सोसल मिडियामै धेरै समय खर्च गर्छन् । जसले बालबालिका बाबाको माया, काख र हेरचाहबाट वञ्चित त हुन्छन् नै अझ आमाको व्यस्तताले गर्दा समयमा खानपिउन पनि पाउँदैनन् ।

    कतिपय बच्चाका आमाहरूले पनि रोएको बच्चालाई स्तनपान गराउन छोडेर सोसल मिडियामा नै समय खर्चेका हुन्छन् । घरभित्रको काम आज पनि पुरुषहरूले छुँदैनन् । भ्याइनभ्याई महिलाले नै सक्नुपर्छ । सूचना प्रविधिको बढ्दो प्रयोग र विप्रेषणले रंगिएको घरेलु अर्थतन्त्रमा सोसल मिडियाको पहुँचमा धेरै महिला पनि आवद्ध छन् । बालबालिकालाई समय खर्चेर मीठा मीठा खानेकुरा बनाएर खुवाउनुको सट्टा तुरुन्तै तयार हुने जंकफुड दिएर सोसल मिडियामा रमाउन निकै आनन्द लाग्छ हामीलाई । तुलनात्मक रूपमा गाउँमा कम र बजारमा बढी होला तर सोसल मिडियाको नकारात्मक लतबाट अछुतो भने कोहीपनि छैनौं।

    सोसल मिडियाको बढ्दो प्रयोगले कुनै पनि बालबालिकाको नैसर्गिक अधिकार कटौती नगरोस्। विश्वव्यापी रूपमा चर्चामा आएका बालअधिकारका कुरामा हनन् नहोस्। असल अभिभावकका बच्चाहरू असल नागरिक बन्न सकुन्। एकपटक गहिरिएर सोचौं त,हाम्रा बालबालिकालाई कति न्याय गर्न सकेका छौं? आफंैले बनाउन सकिने मकै, भटमास, कोदोको रोटीजस्ता खानेकुराहरू उनीहरूले खान पाएका छन् त ? बच्चालाई आफ्नो काँधमा बोकेर वल्लोघर पल्लोघरमा लगेर संस्कार र सभ्यताका कुरा सुनाएका छौं त ? आफू पनि बच्चाजस्तै भएर उनीहरूसँग कुनै खेल खेलेका छौं त ? हाम्रो घरवरपरको वातावरणमा पाइने कुराहरूको यो चिज यो नामको हो भनेर चिनाउन हामीलाई कसले रोकेको छ ? चाडपर्वहरूमा विभिन्न नातेदारकोमा लगेर सम्बन्ध र नाताको बारेमा चिनाउन किन अल्छी गर्छौं ?

    आजभोलि बालबालिकालाई खानेकुरा नभएर केही हुँदैन तर उनीहरू जाने ठाउँको इन्टरनेटको पासवर्ड भने अवश्य चाहिन्छ । यो किन भयो ? हामीले सोचेका छौं त ? यस्तो हुनुमा बालबालिका दोषी हुन् कि उनीहरूका अभिभावक ? घरपरिवार दोषी छ कि हाम्रो समाज ? एकपटक सोचौं त । बच्चाको बाबालाई सोसल मिडियामा कमेन्ट गर्दागर्दै बच्चा के कस्तो छ भन्ने हेर्नलाई फुर्सद नै हुँदैन । बुबा मात्र होइन, उसको आमालाई पनि बच्चा नरोएसम्म स्तनपान गराउने जाँगर चल्दैन । सोसल मिडियाको लतमा आमाहरू पनि चुर्लुम्म डुब्छन् ।

    लत नै त हो लागेपछि सजिलै हटाउन कहाँ सकिन्छ र ? जब त्यही बच्चा बिस्तारै ठूलो हँुदै जान्छ अनि उसले देख्छ । बाबाको आँखा पनि मोबाइलमा, आमाको आँखा पनि मोबाइलमा यत्ति मात्र कहाँ हो र हजुर ? हजुरबाबा, हजुरआमा, काकाकाकी लगायत सम्पूर्ण परिवारको आँखा नै मोबाइलमा । यस्तै बानीले त्यो सानो बच्चाको बालमस्तिष्कमा मोबाइल भनेको विशेष चिज रहेछ भन्ने हुन्छ । बिस्तारै एक वर्षको उमेर नहुँदै उसले पनि मोबाइल हातमा लिएर हेर्न थाल्छ। त्यही बच्चा बिस्तारै ठूलो हुने क्रममा उसलाईघरमा बनाइने खानेकुरा केही खान दिदैनौं। दिन्छौ त चिजबल, चाउचाउ, चाउमिन, मम, पिज्जा, कोकाकोला, बिस्कुट, पानीपुरी जुन जुन सजिलै पाइन्छन्।

    हामीलेबालबच्चासँग गर्ने व्यवहारले नै बच्चालाई प्रभाव पार्ने हो। हाम्रै आनीबानीबाट नै उनीहरूको सिकाइले निरन्तरता पाउने हो। जसको कारण आजभोलिका अधिकांश बच्चालाई हामीले यो सिकायौं कि खानेकुरा भनेको जतिबेला, जहाँसुकै पनि पाइन्छ तर समय काट्नलाई त जहाँ गएपनि इन्टरनेट चाहिन्छ । हाम्रै अनियन्त्रित आनीबानीले गर्दा हाम्रा बालबालिका सानो उमेरमै सूचना प्रविधिको नकारात्मक असरको माध्यमबाट विभिन्न किसिमका आपराधिक कृयाकलाप गर्ने बनाएका त छैनौं ? एकपटक राम्रोसँग विचार गर्न जरुरी छ ।

    सूचना प्रविधिको पहुँच बिस्तार हुनु राम्रो कुरा हो। आवश्यकताको पहिचान गरी यसको सही सदुपयोग गरेर आफू विश्वबजारसँग अद्यावधिक हुनुलाई नराम्रो मान्नुहुन्न। अनावश्यक रूपमा समय कटाउनकर्तव्य र दायित्वहरू नै बिर्सेर सोसल मिडियामा भुल्नुले एकातिर आफ्ना बालबच्चाहरूको नैसर्गिक अधिकारमा नै कटौति भएको छ भने अर्कोतिर भविष्यमा उनीहरू निकै ठूलो दुव्र्यसनीमा फस्न सक्ने सम्भावना सिर्जना हुन्छ । एक्काइसौं शताब्दीका असल बुबाआमा, असल अभिभावक बन्न सक्नुपर्छ । सन्तान जन्माएर मात्रै कर्तव्य पूरा हँदैन ।

    उनीहरूलाई असल नागरिक, सभ्य नागरिक बन्न सक्ने आधार सिर्जना गर्नुपर्छ । सोसल मिडियाको बढ्दो प्रयोगले कुनै पनि बालबालिकाको नैसर्गिक अधिकार कटौती नगरोस् । विश्वव्यापी रूपमा चर्चामा आएका बालअधिकारका कुरामा हनन् नहोस् । असल अभिभावकका बच्चाहरू असल नागरिक बन्न सकुन् । आज अनावश्यक रूपमा चर्चा कमाउनकै लागि सोसल मिडियाको गलत प्रयोगले बालबालिकाको भविष्यलाई अँध्यारो पार्ने काम नगरौं । सबै कुराको सही रूपमा सकारात्मक सदुपयोग गरौं ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस