चितवनमा अज्ञात रोगले मरे बाख्रा
देवघाटको एक व्यावसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रूपमा बाख्रा मरेका हुन् । पछिल्लो दिनमा यो सङ्ख्या बढ्दो छ ।
देवघाट गाउँपालिका–५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको कृषि फर्मका बाख्रा मरेका हुन् । भरतपुर महानगरपालिका–९ निवासी भट्टराईले गतवर्षको असोजदेखि बाख्रा फर्म शुरु गरेका हुन् । उनका अनुसार माउ बाख्रा बढी सङ्ख्यामा मरेका छन् । उनले भने, “पछिल्ला दिनमा दैनिक एउटा बाख्रा मर्ने गरेका छन् ।” अहिले पनि सात वटा बाख्रा बिरामी भएको उनले जानकारी दिए ।
फर्ममा ११० वटा बाख्रा रहेका थिए । रु ४० लाख लगानी गरेर फर्म शुरु गरेको भन्दै उनले भने, “रु २२ लाखभन्दा बढी मूल्यका बाख्रा मरिसके । अझै रोगको पहिचान हुन सकेको छैन ।” विज्ञले रगत घट्ने र हेमोग्लोबिन कम हुने समस्या रहेको जनाएको उनले बताए । टेलिफोनमा उनले भने, “बाख्रालाई रगत दिनका लागि अनुमति लिन अहिले भेटेनरी कार्यालय भरतपुर आएको छु ।”
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनबाट बाख्राको शव परीक्षण गरी नमूना परीक्षणको लागि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाएको कार्यालयले जनाएको छ । बाख्राको रगत र स्वाब सङ्कलन गरेर काठमाडौँ पठाएको १४ दिन भए पनि अहिलेसम्म नतिजा नआएको उनको भनाइ छ । जुनजुन बाख्राको नमूना पठाइयो, ती बाख्रा मरिसकेको उनले बताए । बाख्रालाई १०८ डिग्रीसम्म ज्वारो आउने खान छाड्ने र क्रमशः शिथिल भएर मर्ने गरेका छन् ।
व्यावसायिक बाख्रा पालन गरे पनि बीमा परिपक्क भई नसकेकाले जोखिम आफैले बहन गर्नुपरेको दुखेसो उनले पोखे । हालसम्म कुनै निकायबाट सहयोग नपाएको उनले बताए । गाउँपालिकामा सहयोग अनुरोध गरेको भए पनि पाउन नसकेको भट्टराईको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस