पर्वत–बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध
भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ ।
डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिइए पनि सेना समेत सफल हुनसकेको छैन । सेनाको पर्वतमा रहेको केवलजङ्ग गुल्मले म्याग्दीबाट विस्फोटक पदार्थ ल्याएर सोमबारदेखि विस्फोट गराएर पहिरो पन्छाउन थालेको छ । सोमबार दिउँसो र साँझ दुईपटक विष्फोट गराइएको भए पनि ढुङ्गा अझै नफुटेका कारण पन्छाउन नसकिएको हो ।
विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि खुलाउन सहज हुने भए पनि सफल हुन नसकिएको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएपछि थप विस्फोट गराएपछि सम्भवतः आज साँझसम्म एकतर्फी सञ्चालनमा ल्याउन सकिने अनुमान प्रहरीको छ ।
दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङअन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि कामचलाउ वैकल्पिक सडकका रूपमा साना सवारी साधनले अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग गर्दै आएका छन् भने ठूला सवारी गुड्न नसक्दा मालवाहक सवारी बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस