• जीवनशैली | Jiwanshaili
  • नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग


    काठमाडौँ /  ‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

    संसद्मा नमूना सांसद नवीना पाठकले छिमेकी मुलुक भारतले नेपालका विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको जनाउँदै कूटनीतिक तरिकाले समाधान गर्न माग गरे । अर्का नमूना सांसद चेतन भट्टराईले भारतसँग गरिएका असामान सन्धि खारेज गर्न माग गरे।

    नमूना सांसदले उठाएका प्रश्नका जवाफमा नमूना प्रधानमन्त्री स्मृति बरालले सीमा अतिक्रमण र असमान सन्धिका विषयमा सरकारले कूटनीतिक प्रयासमार्फत समाधान गर्ने आश्वासन दिए । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा गत वर्ष मात्र सरकारले सार्वजनिक गरेको र अब अतिक्रमण भएका क्षेत्रमा गई सीमा समस्या समाधान गरिने बताए ।

    नमूना गृहमन्त्री सुरेन्द्र गिरीले नेपालले आफ्नो एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने नमूना संसद्मा जानकारी गराए ।

    यस्तै आज शून्य र विशेष समयमा उनीहरुले युवा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गरेका हुन् । नमूना सांसद अमृता लम्सालले मुलुकमा रोजगारी नहुँदा लाखाैँ युवा विदेश जानुपर्ने बाध्यता भएकाले मुलुकमा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गरे । नमूना सांसद मनोज भण्डारीले दैनिक एक हजार ५०० युवा विदेश जान बाध्य भएकाले स्वदेशमा नै रोजगारी उपलब्ध गराउन माग गरे।

    नमूना सांसद मुना सुनारले युवतीमाथि बलात्कारका घटना दिनहुँ  बढेकाले रोक्न माग गरे । अपराधीलाई कारबाही नगर्दा किशोरीमाथि बलात्कारका घटना बढिरहेको उनको भनाइ थियो ।

    नमूना सांसद खेमराज अवस्थीले मुलुकमा कोरोना भाइरसको महामारी बढेकाले रोकथाम र नियन्त्रण गर्न माग गरे । उनले कोभिड–१९ का कारणले विद्यार्थीको पठनपाठन पनि हुन नसकेकाले सरकारले सबै शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरे ।

    नमूना सांसद जीवन आचार्यले कर्णाली प्रदेशका युवालाई सीप र क्षमतानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गर्नुभयो ।

    नमूना युवा प्रधानमन्त्री बरालले सरकारले युवा स्वरोजगारीमुखी कार्यक्रम ल्याउन थालेको जानकारी दिए । उनले युवा सीप र क्षमताबाट दक्ष बनाएर करीब एक लाख युवालाई यस वर्ष स्वरोजगार बनाइने प्रतिबद्धता जनाए ।

    उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारले युवालाई स्वरोजगार बनाउनका लागि छुट्टाछुट्टै बजेटसमेत विनियोजन गरेको बताउनुभयो । नमूना प्रधानमन्त्री बरालले विदेश जाने युवालाई तालीम दिएर मात्र पठाइने जानकारी दिए ।

    राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराई भर्चुअल माध्यमबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाले ‘सङ्घीय नमूना युवा संसद्’ सञ्चालन गराएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस