भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो ।
सो गाउँपालिकाका लागि तीन हजार ५०० खोप आवश्यक रहेकामा यसअघि नै ५०० जनाले खोप लगाइसकेका छन् । सो अवसरमा मुख्यमन्त्री नेपालीले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन समेत गरिसकेको जानकारी दिए ।
सङ्घीय सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लामा पठाइएको र प्राथमिकताका आधारमा उपलब्ध गराउन मुख्यमन्त्री नेपालीले निर्देशन दिइसकेका छन् । भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकामा पठाएर खोप लगाउने गरिएको छ ।
अहिले चुमनुब्री पठाइएको खोप तीन हजारलाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु¥याउने जनाइएको छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ । टोलीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा दामोदर रेग्मी छन् ।
माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत खोप चुमनुब्री पु¥याइएको हो । हेलिकप्टरले पालिकाका सातवटै वडाको केन्द्रमा खोप छाड्ने छ । बर्खायाममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस