पाँच वर्षदेखिको अर्बौं विद्युत् महसुल तिरेनन् उद्योगीले
रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुल वापतको रकम तिरेका छैनन् । दैनिक २४ सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुल वापतको अर्बौँ रकम तिर्न आनाकानी गरेका छन् ।
सर्वसाधारणले विद्युत् महसुल ६० दिनभित्र नबुझाए विद्युत् प्राधिकरणले बिजुलीको लाइन नै काटिदिने गरे पनि ती उद्योगलाई भने विद्युत् प्राधिकरणले चेतावनी मात्रै दिँदै आएको छ । विद्युत् प्राधिकरण भैरहवाका अनुसार रुपन्देहीमा अर्बौं रकम बक्यौता बाँकी छ । अर्घाखाँची सिमेन्ट उद्योगले रु एक अर्ब ११ करोड विद्युत् महसुल वापतको बक्यौता तिरेको छैन । यसैगरी जगदम्बा सिन्थेटिक्सले रु ४२ करोड ९८ लाख ८६ हजार, पञ्चकन्या स्टिल प्रालिको रु नौ करोड ९७ लाख ४७ हजार ३९९, सिद्धार्थ पेट प्लास्टरको रु चार करोड ३५ लाख, विशाल सिमेन्ट उद्योगको रु चार करोड २८ लाख बाँकी बक्यौता छ ।
यसैगरी घराना फुड्सको रु चार करोड १८ लाख छ हजार २०१, एभरेष्ट रोलिङको रु तीन करोड ५९ लाख, एसआर फुड्स प्रालिको रु तीन करोड १० लाख २१ हजार बाँकी बक्यौता छ । यसैगरी गोयन्का फुड्सको रु दुई करोड ७७ लाख ६९ हजार, यशोदा फुड्स प्रालिको रु दुई करोड ५२ लाख तीन हजार, सोना प्याकेजिङको रु एक करोड ७० लाख, सोना पोलिमर्सको रु एक करोड ६२ लाख, फेरो स्टिल प्रालिको रु एक करोड छ लाख बाँकी बक्यौता छ ।
यसैगरी शुभलक्ष्मी पोलिमर्सको रु ६८ लाख ३५ हजार, नव नेपाल प्लाष्टिकको रु ७५ लाख २४ हजार विद्युत् महसुल बक्यौता बाँकी छ । यसैगरी श्याम प्लाष्टिकको रु ८५ लाख नौ हजार, भलवारी स्वचालित चामल कारखानाको रु ५६ लाख ८६ हजार, एजी हेल्थ उद्योगको रु ४७ लाख १२ हजार, नेशनल रबर इन्डस्ट्रिजको रु १३ लाख ४१ हजार, जिबी टेक्सटाइल दुई उद्योगको रु ३८ लाख ९२ हजार, नारायण रबर उद्योगको रु सात लाख ६७ हजार ५४७ र प्रिया प्याकेजिङको रु छ लाख ८५ हजार ५२२ बाँकी बक्यौता रहेको छ ।
विद्युत् उपभोग गरेवापत महसुलको बाँकी बक्यौता रकम नतिरी यतिबेला उद्योगी शक्तिकेन्द्र धाउन थालेका छन् । उनीहरुले विद्युत् प्राधिकरणले आफूहरुलाई जानकारी नै नदिई ट्रङ्कलाइनमा जोडिदिएर महसुल असुल्न थालेको आरोप लगाएका छन् । विद्युत् प्राधिकरणले भने भरौलिया अमुवा करिडोरका १५ उद्योगलाई २०७४ चैत १४ गते नै पत्र पठाएर सूचना दिएको बताएको छ । विद्युत् प्राधिकरणका अनुसार भरौलिया अमुवा ग्रीडका १५ उद्योग विसं २०७४ चैत १४ गते, बुटवल भैरहवा ग्रिडका पाँच उद्योग २०७२ साउनदेखि र बुटवल लुम्बिनी ग्रिडका तीन उद्योग २०७२ साउनदेखि ट्रङ्कलाइनमा जोडिएका हुन् ।
यसअघि प्रतिनिसभा संसद्को सार्वजनिक लेखा समितिको २०७७ चैत २२ गते सम्पन्न बैठकले एक महिनाभित्र विद्युत् महसुल वापतको बक्यौता रकम असुल्न सरकार र प्राधिकरणलाई निर्देशन दिएको थियो । यसैगरी तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको अध्यक्षतामा बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको २०७७ माघ ११ गतेको बैठकले पनि बक्यौता रकम सबै असुल्ने निर्णय गरेको थियो ।
त्यतिमात्रै होइन, विद्युत् प्राधिकरणले २०७८ असार ११ गते असार मसान्तभित्र सबै बक्यौता रकम तिर्न उद्योगलाई पत्र पठाएको छ । उद्योगीहरु रकम तिर्नुको साटो विद्युत् प्राधिकरणमा डेलिगेशन तथा दबाब दिइरहेका छन् । विसं २०७७ साउनदेखि विद्युत् नियमन आयोगले लोडसेडिङ हटेको भन्दै डेडिकेटेड र ट्रङ्कलाइन भनी फरक महसुल दर कायमलाई हटाएको छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहको अध्यक्षतामा बसेको उक्त बैठकको निर्णयसँगै गत वर्षको साउनयताको ट्रङ्कलाइनको महसुल नजोडिएको प्राधिकरणको भनाइ छ । यता उद्योगीले भने आफूहरुले ट्रङ्कलाइनका नाममा प्राधिकरणले कायम गरेको महसुल नतिर्ने भन्दै अटेर गर्दै आएका छन् ।
विद्युत् प्राधिकरण भैरहवाका प्रमुख जितेन्द्र झाले महसुल नतिर्नेको नियमानुसार लाइन काट्ने र बक्यौता रकम असुलीका लागि कानूनी प्रक्रिया थालिने बताए । उद्योगीले भने आफूहरु अन्यायमा परेको हुँदा अदालत जान थालेको बताएका छन् । अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीले भने, “हामी अदालत गएका छौँ, यसैले त्यहाँको आदेशपछि के गर्ने हो गर्छौँ ।”
राजस्व असुलीमा तीन वर्षपछि सफल भयो भैरहवा भन्सार
कोरोना सङ्क्रमणका कारण राज्यका विभिन्न निकाय राजश्व असुलीमा असफल भइरहेका बेला भैरहवा भन्सार कार्यालय भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले विगतका वर्षको तुलनामा आर्थिक गतिविधि बढेसँगै राजश्व असुली बढेको बताए ।
आव २०७७र७८ को असार सम्ममा भन्सार कार्यालयले ११२ दशमलव ५४ प्रतिशत राजश्व असुली गरेको छ । उक्त राजश्व सङ्कलन वार्षिक लक्ष्यभन्दा १२ दशमलव ५४ प्रतिशत बढी हो । आव २०७४र७५ मा रु ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकामा ८६ प्रतिशत मात्र अर्थात् रु ७० अर्ब २८ करोड ९३ लाख पाँच हजार राजश्व असुली भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
यसैगरी आव २०७५र७६ मा पनि कार्यालयले रु ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकामा ८८ प्रतिशत अर्थात् रु ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल गर्न सकेको थियो । सबैभन्दा कम राजश्व आव २०७६र७७ मा असुल भएको थियो । अहिलेसम्मकै सबैभन्दा बढी रु एक खर्ब छ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकामा कार्यालय ६६ प्रतिशत अर्थात् रु ७० अर्ब २९ करोड १५ लाख ९७ हजार राजश्व मात्र असुल्न सफल भएको थियो ।
आव २०७७र०७८ मा भन्सार कार्यालयले विगत तीन वर्षको राजश्व असुलीको असफलता तोड्दै ११२ दशमलव ५४ प्रतिशत राजश्व असुली गरेको छ । आव २०७७र७८ मा रु ९९ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य पाएको कार्यालयले रु एक खर्ब १२ अर्ब राजश्व असुली गरेको छ ।
गत मङ्सिरमा कार्यालय प्रमुख भएर आएका पौडेलले भन्सारमा नियमितरूपमा आन्तरिक नियन्त्रण छड्के जाँच, अनलाइन मनिटरिङ, हरेक दिनको कारोबारको आलेप अर्को दिन गर्ने प्रणालीको शुरुआत र वैध व्यापारलाई प्रोत्साहन हुने गरी डेस्क सञ्चालन गरेसँगै राजश्व असुलीमा सफलता हासिल भएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस