• जीवनशैली | Jiwanshaili
  • कोरोना जस्तै लक्षण देखिन्छ ‘टन्सिलाइटिस’ को पनि


    कोरोना संक्रमणको बारेमा थुप्रै ज्ञान राखिरहँदा हामीले कोरोनाको लक्षणसँग दुरुस्तै मिल्ने लक्षण भएको ‘टन्सिलाइटिस’को बारेमा पनि जानीराख्नु अहिले आवश्यक भएको छ । वर्षातको समयमा विभिन्न खालको इन्फेक्सनहरु बढ्ने हुन्छ । हाम्रो शरीरमा पनि विभिन्न खाले इन्फेक्सनहरु हुनुको मुख्य कारण हाम्रो खानपान पनि हो । यो समयमा चिसो र अमिलो पिरो खान मन लाग्ने भएका कारण हाम्रो मुखमा रहेको टन्सिलहरुमा प्रभाव पर्न गइ हामीमा टन्सिलाइटिसको समस्या आउन सक्दछ । जसको लक्षण दुरुस्तै कोरोनाको लक्षणसँग मेल खान्छ । त्यसैले अहिलेको यो अवस्थामा कोरोना र टन्सिलनइटिसको बारेमा उचित ज्ञान राख्नु आवश्यक छ । यसका लागि नाक, कान घाँटी विशेषज्ञ डाक्टर नीता शाक्य मल्लसँग जीवनशैली डट कमकी रीता श्रेष्ठले गरेको कुराकानी प्रस्तुत छ ।

     

    १. टन्सिल के हो ?
    टन्सिल भनेको मानव शरीरको घाँटीको दाँया बाँया दुवैतिर रहेको ग्रन्थी हो र यो ग्रन्थीमा हुने संक्रमण वा कुनै पनि समस्यालाई टन्सिलाइटिस भनिन्छ । टन्सिल हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित हुन्छ । टन्सिलले मुखबाट शरीरमा पस्ने किटाणुहरुलाई रोक्ने काम गर्छ । हामीले बुझ्ने टन्सिल भनेको देखिने ग्रन्थी मात्र हो । जसलाई मेडिकल भाषामा ‘पालाटाइन टन्सिल’ भनिन्छ तर हाम्रो खाना नलीमा यस्ता थुप्रै ग्रन्थीहरु हुन्छन् । त्यस्तै हाम्रो नाकको पछाडिको भागमा हुने ग्रन्थी ‘एडिनोइड’ ग्रन्थी हो । घाँटीको पछाडि भित्तामा र जिब्रोको फेदमा पनि थुपै्र टन्सिलहरु हुने गर्दछन् । र यस ग्रन्थीहरुको काम भनेको मुखमा रहेको किटाणु मार्ने तत्व बनाउने हो । हाम्रो शरीरमा भएका थुपै्र ग्रन्थीहरुमध्ये टन्सिल ग्रन्थीहरू पनि अति नै महत्वपुर्ण ग्रन्थी हुन् ।

    २. यसका लक्षणहरु के कस्ता हुृन्छन् ?
    टन्सिलमा समस्या आउने बित्तिकै हाम्रो शरीरमा आएका विभिन्न लक्षणहरुले हामी थाहा पाइहाल्छौँ । जस्तो कि टन्सिलाइटिस भएमा हामीलाइ १०० डिग्रीसम्मको ज्वरो आउने, घाँटी दुख्ने, सास गन्हाउने, घाँटीका गिर्खाहरु बढेर जाने, मुख खालेर हेर्दा टन्सिलको आकार ठुलो हुने गर्दछ, खानेकुरा खान गाह्रो हुने, थुक निल्न नसकिने र खाना राम्रोसँग खान नसक्नाले शरीर कमजोर हुने र आलस्यता पनि बढ्ने हुन्छ । यस्ता लक्षण्हरु देखिने बित्तिकै उपचारका लागि जानु पर्छ ।

    ३. कोरोना र टन्सिलाइटिसको लक्षणहरु मिल्दोजुल्दो हुने रहेछ, अब हामीले कसरी कोरोना अथवा टन्सिलाइटिस भएको हो भनेर थाहा पाउने ?
    कोरोना र टन्सिलका लक्षणहरु एकअर्कामा मिल्दो जुल्दो हुन्छ र यसलाइ यहि हो भनेर पत्ता लगाउन भने पीसीआर गर्नै पर्छ । त्यसैले अहिलेको महामारीमा घाँटी दुख्ने, ज्वरो आउने, शरीर गल्ने बित्तिकै एक पटक सबैले पीसीआर टेस्ट गर्नै पर्छ । त्यो टन्सिल नै भए पनि लक्षणहरु उस्तै उस्तै भएकोले पीसीआर टेस्टपछि नेगेटिभ आएको खण्डमा नाक कान घाँटी विशेषज्ञकोमा गएर टन्सिलाइटिसको उचित उपचार गराउन म सबैमा अनुरोध पनि गर्छु । अहिलेको अवस्थामा अलि बढि सचेत हुनुपर्ने अवस्था छ । कोरोना संक्रमणको जोखिम सँगसँगै कोरोनाको जस्तै लक्षण भएको टन्सिलाइटिसको पनि जोखिम उत्तिकै रहेको छ किनकी गर्मी मौसम छ त्यसैले चिसो खानाले हामीमा टन्सिलाइटिसको समस्या बढ्न पनि सक्छ ।

    ४. कुन उमेर समुहका व्यक्तिहरुलाई टन्सिल हुने गर्दछ ?
    विशेषगरी बालबालिकामा टन्सिलाइटिसको समस्या बढी देखिने गर्दछ । उनीहरुको रोग प्रतिरक्षा प्रणाली कमजोर हुने भएको बढी मात्रामा इन्फेक्सनहरु देखिने गर्दछन् । सबैमा यो टन्सिलाइटिसको समस्या देखिन सक्छ तर विशेषगरी बालबालिकाहरु बढी प्रभावित हुने गर्दछन् । अरु उमेरका व्यक्तिहरुलाई पनि नहुने चाँहि होइन ।

    ५. टन्सिलको कसरी उपचार गर्न सकिन्छ र उपचारको विधि के हो ?
    टन्सिलाइटिसको उपचार विधी भनेको लक्षणका आधारमा उपचार गर्न सकिन्छ । ज्वरोको लागि पारासिटामोल र इन्फेक्सनका लागि एन्टिबायोटिकको सेवन गरेर यसको उपचार गर्न सकिन्छ । गार्गल गरेर पनि टन्सिलाइटिसलाई कम गर्न धेरै नै मद्दत पुग्छ । खाना खान सक्ने अवस्था छ भने खाने औषधी कै माध्यमबाट उपचार शुरु गराइन्छ तर कतिपय भने गम्भीर भइसक्दा आउनु हुन्छ र त्यस्तो अवस्थामा इन्जेक्सनबाट नै औषधि चलाउनु पर्ने हुन्छ । कतिपयलाइ अस्पतालमै पनि भर्ना गरेर राख्नु पर्ने हुन्छ । दोहारिएर टन्सिलाइटिस भइरहने हुन्छ कतिपयलाई र दुख दिइ रहन्छ भने त्यस अवस्थामा हामीले अपरेशनका लागि सल्लाह दिइरहेका हुन्छौं । अपरेशन पछि पनि विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । अपरेशनपछि इन्फेक्सनहरु निकै कम भएर जान्छ र खाना त्यस्तो बार्नु पर्ने भन्ने पनि हुँदैन । तर त्यो भन्दैमा घाँटी नै दुख्दैन भन्ने चाँहि हुदैन । त्यो अवस्थामा हेरेर आवश्यक उपचार गर्नुपर्ने हुन्छ । यसरी टन्सिलाइटिसको अवस्था हेरेर उपचार गर्नुपर्ने हुन्छ ।

    ६.घरेलु उपचारहरुको बारेमा पनि सुनिन्छ कत्तिको प्रभावकारी हुन्छ ?
    घरेलु उपचारहरुको बारेमा सुनिन्छ तर इन्फेक्सन भइसकेपछि घरेलु उपचार प्रभावकारी हुन सक्दैन । इन्फेक्सन हुनै नदिनका लागि केहि हदसम्म कम गर्न सकिन्छ तर घरेलु उपचारले इन्फेक्सन निको भने गर्न सक्दैन । त्यसैले टन्सिलाइटिस भएपछि घरेलु भन्दा पनि सम्बन्धित चिकित्सककोमा गएर आवश्यक उपचार लिनु अति नै आवश्यक हुन्छ ।

    ७. टन्सिलबाट बच्ने उपाय के हो ?
    हामी स्वास्थ्यसँग सम्बन्धित हेरक समस्याहरुबाट बच्न कोसिस गरी नै रहेका हुन्छौं । तर, टन्सिलाइटिस भनेको सबलाइै कुनै न कुनै बेला भएकै हन्छ । टन्सिलाइटिसबाट बच्ने उपाय भन्दा पनि बारम्बार हुन नदिनका लागि आफ्नो दैनिक जीवनशैलीका व्यवहार पनि परिवर्तन गर्ने, धुमपान नगर्ने, मसलादार खानेकुराहरु पनि कम खाने गर्नु पर्छ । गर्मीको मौसम छ चिसो खाने बानी कम गर्ने र मुख सफाइमा पनि ध्यान दिने गनुपर्छ । हरेक बेलुकाको समयमा खाना खाइसके पछि गार्गल गर्ने बानीले पनि टन्सिलाइटिस हुन नदिनका लागि भुमिका खेलेको हुन्छ । ००००

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस