झापामा वरपीपल बचाउन नर्सरी अभियान
शीतल छहारी र धेरै अक्सिजन प्रदान गर्ने वनस्पतिका रूपमा परिचित वरपीपल मासिँदै गएपछि अर्जुनधारा नगरपालिका–१० का ८३ वर्षीय पर्शुराम कटुवाल यसको बचाऊ अभियानमा लागेका छन्।
‘वरपीपल बा’ भनेर चिनिँदै आएका उनले विगत तीन वर्षदेखि यसको बिरुवा ९नर्सरी० उत्पादन गर्दै आएका छन्। निजी नर्सरीमा हुर्किएका वरपीपलका बिरुवा उनले सित्तैमा उपलब्ध गराउँछन्। तर, बिरुवा लैजानेले हुर्काउन नसकेर बिरुवा मरेको थाहा पाएमा उनले प्रतिबिरुवा एक हजार रूपैयाँ जरिवाना तिराउने बताए।
विगत तीन वर्षमा उनको निजी नर्सरीमा पाँच हजारभन्दा बढी वर, पीपलका बिरुवा हुर्किसकेका छन्। बचाऊ अभियान भएको कारण बिरुवा लैजानेसँग पैसा नलिएको उनको भनाइ छ। यहाँ उत्पादित वरपीपललगायतका बिरुवा झापाका विभिन्न स्थान, ताप्लेजुङ, पाँचचर, भोजपुर, बागलुङसमेत पुगेका छन्।
अन्य बिरुवाजस्तो वरपीपलको नर्सरी सञ्चालन सजिलो छैन। वरपीपलको बिजन नउम्रिने हुँदा मान्छेको घर, जङ्गलका रुख, ढुङ्गाका काप आदीबाट खोजेर ल्याइएका बिरुवालाई नर्सरीमा मेहनतका साथ हुर्काउन पर्दछ। “वरपीपलका दाना चराले खाएर बिस्ट्याएको अप्ठ्यारो स्थानमा मात्र नयाँ बिरुवा उम्रिन्छ”, उनले भने, “मान्छेको घरको छत, रुखका काप, ढुङ्गाको कापमा उम्रिएका बिरुवा खोजेर नर्सरी बनाएको छु।”
उनले जिल्लाभरिबाट सङ्कलन गरेर ल्याएको बिरुवा प्लाष्टिकको बट्टामा माटो, मल भरेर नर्सरी बनाउने गरेको बताए। यसरी एउटा बिरुवा हुर्काउनका लागि पाँच सय रूपैयाँसम्म खर्च लाग्ने गरेको छ। “व्यापार र नाफा गर्ने उद्देश्यले गरेको होइन, हिन्दू धर्ममा वरपीपललाई भगवान् मानिन्छ। यसको जर्गेना गर्दा आत्मसन्तुष्टि मिल्छ”, उनको भनाइ छ।
वरपीपलको नर्सरी नै स्थापना गरेर निःशुल्क वितरण गर्दै आएपछि सराहना गर्दै डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०७७र७८ मा उनलाई ५० हजार रूपैयाँ अनुदान दिएको थियो। उनले नर्सरीको सम्पूर्ण खर्च निजी स्रोतबाट व्यहोर्दै आएका छन्।
पछिल्लो समय सडक, मठमन्दिर र सार्वजनिक स्थानमा लगाइएका वरपीपलका बोटहरु मासिँदै गएका छन्। पुर्खाले धर्मकर्मको सोचले हुर्काएका वरपीपल चौतारी मासिँदै गएका छन्। वरपीपलले पर्यावरणीय सन्तुलन कायम गर्ने, अत्यधिक अक्सिजन उत्पादन गर्ने र हरियाली कायम राख्ने हुँदा मानव स्वास्थ्यका लागि महत्वपूर्ण मानिने डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ओम भट्टराईले बताए।
उनले जिल्लाका सामुदायिक वनहरुलाई समेत वरपीपलका बिरुवाहरु रोप्न आग्रह गरिरहेको बताए। “अन्य जातका बोट बिरुवाका तुलनामा ठूलो र हरियाली हुने हुँदा धेरै चराचुरुङ्गीको बासस्थान र खानाको स्रोत हो पनि हो”, उनले भने,“यस्तो बहुमूल्य र बहुउपयोगी बिरुवा बिजनद्वारा नउम्रिने हुँदा वनले अनुदान नै दिएर अभियन्ता कटुवाललाई प्रोत्साहन गरेका हौँ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस