• जीवनशैली | Jiwanshaili
  • नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध


    हुम्लाको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा कामकाज ठप्प भएको छ । वल्र्ड लिङ्क कम्युनिकेसन प्रालीको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो । असार २९ गतेदेखि सेवा अवरुद्ध हुँदा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्नुपर्ने काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।

    विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न पाएको छैन । असार ३० गते अदानचुली गाउँपालिकामा गएर काम गरे पनि पूरा गर्न नसकिएको ढकालले बताए ।

    इन्टरनेट समस्याले हिसाब मिलाउन गर्न नसकेर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन पठाउन नसकिएको गाउँपालिकाले जनाएको छ । हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकमबारे पनि भन्न नसकिएको उहाँले बताए । वल्र्ड लिङ्कलाई खबर गरेर जुम्लाबाट कर्मचारी आइपुगे पनि इन्टरनेट बन्न नसकेको बताइएको छ ।

    इन्टरनेट सेवाअवरुद्ध हुँदा स्वास्थ्यचौकीको कामकाजमा पनि बाधा पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र श्यांकुले बताए। वल्र्ड लिङ्कले मर्मत जारी राखे पनि कहिलेसम्म इन्टरनेट सेवा सञ्चालनमा आउँछ भन्नेबारे अझै टुङ्गो नलागेको गाउँपालिकाले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस