• जीवनशैली | Jiwanshaili
  • राष्ट्र गुरु योगी नरहरिनाथको संक्षिप्त जीवनी सार्वजनिक


    काठमाडौं । राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिएको छ ।

    पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ । विश्व केसी पोखरेलले लेखेको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । ६२ पृष्ठको पुस्तकको मूल्य रु १०१ राखिएको छ ।

    रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गरेको पुस्तकको आज भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिएको कार्यक्रममा विमोचन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले संक्षिप्त पुस्तक भए पनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएको बताए ।

    मृगस्थलीमा योगी नरहरिनाथले लेखेका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकामा दुःख लागेको उल्लेख गर्दै ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने उनीहरुले माग गरे । योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस