शिवालय बन्द : भक्तजन अलपत्र
साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन् । पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि खुला नगरिएपछि भक्तजन बाहिरी क्षेत्रका शिवालयमा दर्शन एवं पूजा आराधना गरेर फर्किएका छन् ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी कम हुँदै गएको भन्दै सार्वजनिक यातायातलगायत अन्य सबैजसो क्षेत्र खुला गरिसकिएको अवस्थामा मन्दिर पनि खुला गरिनुपर्ने भक्तजनको माग छ । साउन महिना र सोमबार शिवको महिना एवं बार भएकाले दर्शन तथा आराधनाका लागि दैनिक लाखौँ भक्तजन पशुपति क्षेत्र आउने परम्परा छ । गत वर्ष र यस वर्ष पनि साउन महिनामा पशुपतिनाथ मन्दिर नखुल्दा बाहिरबाट दर्शन गर्न बाध्य हुनुपरेको चन्द्रागिरि नगरपालिकाबाट दर्शनका लागि आएका श्यामप्रसाद भुर्तेलले सुनाए ।
पशुपतिनाथ मूल मन्दिरको दक्षिणी भागस्थित मुख्य ढोकाबाट मूलभट्ट एवं भट्टलाई भेट्न जाने जनाउँदै केही मानिस भित्रिने तर अरुलाई छिर्न नदिने गरेको अनुभव भोग्नुपरेको उहाँको गुनासो छ । शङ्करका मन्दिरमा पनि यस्तो व्यवहार हुँदा दुःखी हुनुपरेको पशुपति क्षेत्र आउने भक्तजनको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरका सबै ढोका बन्द गरेर साउनमा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम काँवर यात्रासमेत स्थगन गरेको छ । कोषले यात्रा स्थगन गरे पनि केही बोलबम यात्री भने सुन्दरीजलबाट सवारी साधन प्रयोग गरी जल लिएर पशुपति क्षेत्र प्रवेश गरेको देखिन्छ ।
कोषका सदस्य सचिव डा प्रदीप ढकाल मूलभट्टलाई भेट्न आउने आगन्तुक पञ्चदेवलसँगैको दक्षिणी ढोकाबाट प्रवेश गर्न दिइए पनि मूल मन्दिरमा प्रवेश गर्न सुरक्षाकर्मीले रोकेको बताउनुहुन्छ । आइतबारदेखि बढी भीडभाड हुने मन्दिरलगायत क्षेत्रका लागि १० ठाउँमा निषेधाज्ञा थपिएकाले पनि साउनभर नै मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको उनले बताए ।
पशुपतिनाथ मन्दिर गत वैशाख पहिलो सातादेखि नै भक्तजनका लागि बन्द गरिएको थियो । त्यसैबेलादेखि विशेष पूजा पनि रोकिएको छ । मूल मन्दिरमा साउनमा प्रत्येक वर्ष हुने अन्य पूजा भने जारी रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस