शहीद मनोज जोशीको ३० औँ स्मृति दिवस मनाइयो
शहीद मनोज जोशीको हत्याकाण्ड भएको आज ३० वर्ष पूरा भएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेल बजारमा विसं २०४८ साउन १५ गते निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बन्नुभएका जोशीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको मृत्यु भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’का रुपमा चिन्ने गरिन्छ । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौतानुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीको अगुवाइमा निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीको गोली लागेको थियो ।
विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले चलाएको गोली जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शी एवं नेकपा (माओवादी केन्द्र)का नेता सुमन श्रेष्ठले बताए । आन्दोलनका क्रममा मृत्यु भएका जोशीलाई सरकारले विसं २०७४ माघ २२ गते शहीद घोषणा गरेको थियो ।
उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएर घाँस खुवाउनेलगायत दुव्र्यवहारसमेत गरेका थिए । सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी १३ जना कर्मचारीलाई जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)ले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
दिक्तेल निवासी बुबा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोरा मनोज जोशी विसं २०३० असोज २३ गते जन्मनुभएको थियो । उहाँको वास्तविक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रेणी सांस्कृतिक समाज तथा युवा सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो । सामाजिक काममा क्रियाशील जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमा समेत परिचित थिए।
विगतका वर्षहरुमा सप्ताहव्यापी कार्यक्रम गर्दै स्मृति दिवस मनाउने गरिए पनि यसपल्ट कोभिड–१९ का कारण शुक्रबार जोशीको समाधिमा माल्यार्पण एवं श्रद्धाञ्जलीसभा मात्र गरिएको छ । सभामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य ध्रुवकुमार कार्कीलगायतले सम्बोधन गरेका छन् ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले मनोज जोशीलाई शहीद घोषणा गर्ने जिल्लाबासीको माग पूरा भए पनि जोशीको हत्यामा संलग्न दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको बताए ।
यसैबीच, जिल्ला अस्पताल खोटाङमा कार्यरत ल्याब टेक्निसियन शेखर अधिकारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवारी चालक युवराज गुरुङ ‘काजी’लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । जिल्लामा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणमा अग्रणी भूमिका खेलेको भन्दै टेक्निसियन अधिकारी र चालक गुरुङलाई जनही रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङले टेक्निसियन अधिकारी र चालक गुरुङलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शहीद मनोज जोशीकी आमा अम्बिका जोशी, प्रतिष्ठानका पदाधिकारी लगायतको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस