मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी छन्त्यालले जानकारी दिए ।
केन्द्रमा मुसिकोट नगरपालिका– २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । त्यसका साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गर्ने छन्त्यालले बताए ।
बीउ उत्पादनका लागि मुसिकोट नगरपालिका–३ मा रु ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौ महिनादेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरु गरिने छन्त्यालले बताए ।
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको सङ्ख्या छ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०÷२० मेट्रिकटनका दुई वटा प्रशोधन केन्द्र स्थापना भएका छन् । मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुङ्गा नगरपालिका–१० मा २०÷२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिए।
मालिका, मदाने, इस्मा र रेसुङ्गामा आर्थिक वर्ष २०७३/७४ देखि ७६/७७ को अवधिमा स्रोत केन्द्रको निर्माण सम्पन्न भएको हो भने मुसिकोटको स्रोत केन्द्र आव ०७७÷७८ मा निर्माण सम्पन्न भएको काफ्लेले जानकारी दिए ।
जिल्लाका सबै बीउ प्रशोधन केन्द्रबाट एकपटकमा १५० मेट्रिकटन बीउ उत्पादन गर्न सकिने कार्यालय प्रमुख काफ्लेको दाबी छ । गुल्मीमा मनकामना तीन, अरुण दुई, रामपुर कम्पोजिटलगायत मकैको बीउ उत्पादन हुँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस